इरानको नयाँ प्रश्तावप्रति अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व अन्त्यका लागि पेस गरिएको पछिल्लो शान्ति प्रश्तावप्रति आफू सन्तुष्ट नरहेको बताएका छन् ।

हाल युद्धविरामको अवस्थामा रहेको मध्यपूर्वी मुलुक इरानसँगको तनाव व्यवस्थापनका लागि आएको उक्त प्रस्तावलाई ट्रम्पले पर्याप्त नभएको टिप्पणी गरेका हुन् ।

पाकिस्तानी मध्यस्थकर्तामार्फत इरानले बिहीवार अमेरिकालाई सम्भावित शान्ति सम्झौताको मस्यौदा बुझाएको थियो । उक्त प्रस्तावबारे प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरू सम्झौता गर्न त चाहन्छन्, तर म यसमा सन्तुष्ट छैन । अब के हुन्छ, त्यो हेर्दै जाऔँ ।’

राष्ट्रपति ट्रम्पकाअनुसार हाल दुई देशबीच टेलिफोनमार्फत वार्ताका प्रयासहरू भइरहेका छन् । यद्यपि, उनले इरानी नेतृत्वभित्र ठूलो मतभेद र विभाजन रहेको दाबी गरे ।

‘इरानको नेतृत्व अत्यन्तै विखण्डित छ। त्यहाँ तीन–चारवटा समूहहरू सक्रिय छन् जसका कारण उनीहरूबीच आपसी समन्वयको अभाव देखिन्छ ।’ ट्रम्पले भने ।

यसै क्रममा ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै अब इरानसँग दुईवटा मात्र विकल्प बाँकी रहेको उल्लेख गरे । उनकाअनुसार इरानले कि त अमेरिकाले चाहेको जस्तो सम्झौता गर्नुपर्नेछ, अन्यथा सैन्य आक्रमणको सामना गर्नुपर्नेछ ।

ट्रम्पले अमेरिकी सेन्ट्रल कमाण्डबाट सैन्य विकल्पहरूका बारेमा पछिल्लो ब्रिफिङ लिइसकेको समेत जानकारी दिए ।

अर्कोतर्फ, ट्रम्पले अमेरिकी संसदको ‘वार पावर्स एक्ट’ (युद्ध शक्ति ऐन) लाई पूर्ण रूपमा असंवैधानिक भन्दै खारेज गरिदिएका छन् । यो ऐनले कङ्ग्रेसको अनुमतिबिना राष्ट्रपतिलाई ६० दिनभन्दा बढी सैन्य बल प्रयोग गर्न रोक लगाउँछ ।

ट्रम्पले भने, ‘यसअघि कहिल्यै प्रयोगमा नआएको यो ऐन असंवैधानिक छ। हामी कङ्ग्रेसको सम्पर्कमा त छौँ, तर यो ऐनको पालना गर्न हामी बाध्य छैनौँ ।’ यसअघि अमेरिकी रक्षा सचिव पिट हेगसेथले हालको अनिश्चितकालीन युद्धविरामले गर्दा युद्ध ‘रोकिने’ (एबगकभ) र यसले गर्दा ह्वाइट हाउसका लागि ६० दिनको समयसीमा तत्काल आकर्षित नहुने दाबी गरेका थिए ।

‘वार पावर्स एक्ट’ अनुसार राष्ट्रपति ट्रम्पले सैन्य कारबाही जारी राख्न वा अन्त्य गर्न शुक्रवारसम्म कङ्ग्रेसबाट अनुमति लिनुपर्ने कानूनी प्रावधान थियो । उक्त समयसीमालाई थप ३० दिन विस्तार गर्ने विकल्प रहे पनि ट्रम्पले ऐनको संवैधानिक हैसियतमाथि नै प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =