एआई मानवीय संवेदनाको विकल्प हुन सक्दैनः बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले कानून व्यवसाय र न्याय सम्पादनको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल बार एशोसिएशन युवा समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले प्रविधिमैत्री न्याय प्रणालीको आवश्यकता औँल्याए । अध्यक्ष मिश्रले कानून व्यवसायीहरूको व्यावसायिक मर्यादा र अनुशासनका विषयमा बार काउन्सिल गम्भीर रहेको बताए ।

पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा कानून व्यवसायीहरूबाट हुने अराजक टिप्पणी र व्यवहारलाई नियमन गर्न काउन्सिलले छुट्टै एकाइ खडा गरी अनुगमन शुरु गरेको उनले जानकारी दिए ।

एआईका कारण कानून व्यवसायीहरूमा आलस्यता बढ्नसक्ने र सिर्जनशीलतामा ह्रास आउन सक्नेप्रति उनले सचेत गराए । फिराद पत्र, प्रतिउत्तर र बहस नोटहरू कानुन व्यवसायीको आफ्नै बौद्धिक सिर्जना हुनुपर्नेमा जोड दिँदै उनले एआईलाई केवल एक ‘सहयोगी औजार’ का रूपमा मात्र प्रयोग गर्न सुझाव दिए ।

उनले एआई प्रयोग गरेर तयार पारिएका मस्यौदाहरूमा हुबहु नक्कल गर्दा पर्नसक्ने कानूनी जोखिम र क्षतिपूर्तिका विषयमा आचारसंहिता पुनरावलोकन समितिले काम गरिरहेको समेत बताए ।

अदालतका नयाँ भवनहरू निर्माण गर्दा बारका लागि पर्याप्त स्थान नछुट्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राज्यले बार प्रणालीलाई अझै पनि उचित महत्व नदिएको गुनासो गरे । साथै, राज्य प्रणालीमा अंग्रेजी भाषाको बढ्दो प्रयोगले नेपाली भाषाको मौलिकता र अस्तित्वमा पर्नसक्ने असरबारे पनि उनले चिन्ता व्यक्त गरे ।

कानून व्यवसायीहरूलाई प्रविधिमा पोख्त बनाउन बार काउन्सिलले आगामी सोमवारदेखि एआई सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जानकारी अध्यक्ष मिश्रले दिए ।

युवा समितिलाई यस्ता रचनात्मक र तालिममूलक कार्यक्रमहरूलाई निरन्तरता दिन निर्देशन दिँदै उनले कानून व्यवसायीहरूलाई प्रविधि र कानूनको संगममा रहेर काम गर्न प्रेरित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =