युवा उद्यमी सचिन ढकालको आह्वानः ‘नेपालमै सम्भावना छ भन्ने विश्वास निर्माण गरौँ’

काठमाडौं । विदेशमा अध्ययनका क्रममा आधुनिक प्रविधि र प्रणालीहरूको अनुभव सँगालेका युवा उद्यमी सचिन ढकालले नेपालमै सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने विश्वासका साथ आफु स्वदेश फर्किएको बताएका छन् ।

हाल आइएमई समूहमार्फत हस्पिटालिटी र खेलकुद क्षेत्रमा सक्रिय ढकालले नेपालका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै जाँदा नीतिगत तथा संरचनागत समस्याहरूलाई नजिकबाट बुझ्ने अवसर पाएको बताए ।

उनकाअनुसार नेपालमा मुख्य चुनौतीका रूपमा नीतिगत अस्पष्टता, कार्यान्वयनमा ढिलासुस्ती तथा निजी क्षेत्रप्रतिको दृष्टिकोण रहेको छ । उनले नयाँ पुस्ता केवल गुनासो गर्ने नभई समाधान खोज्ने दिशामा सहकार्य गर्न तयार रहेको बताए ।

उनले निजी क्षेत्र र सरकारबीचको सहकार्य, नीतिगत स्थिरता र नवप्रवर्तनमा जोड दिनु अहिलेको आवश्यकता रहेको बताए । ढकालले हामीले हाम्रा छोराछोरीलाई नेपाल फर्क यहाँ अवसर छ भनेर ढुक्कसँग भन्न सक्ने वातावरण बनाउन सक्नुपर्ने बताए ।

उद्यमी ढकालले आफ्नो मुख्य उद्देश्य निजी क्षेत्रका समस्याहरू पहिचान गरी समाधानमुखी भूमिका खेल्ने संस्थागत नेतृत्व निर्माण गर्नु रहेको समेत बताए । उनले यस्तो संस्थालाई विदेशमा रहेका नवप्रवर्तनशील नेपाली युवाहरूलाई स्वदेश फर्काउने पुलको रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

आफू आगामी उद्योग वाणिज्य महासंघमा भिड्न लागेको संकेत गर्दै उनले उम्मेदवारी कुनै एक पदका लागि मात्र नभई नेपालका युवाहरूका लागि ‘अब नेपालमै सम्भव छ’ भन्ने सन्देश दिनलाई रहेको बताए ।

उनले ग्रजहरूको अनुभव र युवाहरूको जोशलाई समेट्दै समृद्ध नेपाल निर्माणको आह्वान समेत गरे । ढकालले आफ्नो भिजनलाई “विश्वासमा आधारित नयाँ दिशा र समृद्धिको नयाँ निकास” का रूपमा प्रश्तुत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 6 =