निजी क्षेत्रबीच व्यावसायिक एकता र सहकार्य हुनपर्छ : पूर्वअध्यक्ष मल्ल

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता संगठनहरूबीच व्यावसायिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनको सन्दर्भमा बोल्दै उहाँले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको र यसको समापनसँगै सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका हुन् । पूर्वअध्यक्ष मल्लले निर्वाचनमा हुने हार–जितलाई बिर्सेर निजी क्षेत्रको हकहितका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे ।

उनले महासंघमा निर्वाचित भएर आउने नयाँ नेतृत्वसँग नेपाल चेम्बर अफ कमर्सले सधैँझैँ सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । वर्तमान समयमा निजी क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मल्लले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । सरकारले दिने आश्वासन र व्यवहारमा भिन्नता रहेको उनले बताए ।

उनले भने, ‘निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक हो, तर निर्वाचन सकिएपछि मुलुकलाई कुन बाटोमा डोहो¥याउने भन्ने विषयमा सबैको ध्यान केन्द्रित हुनुपर्छ । कुनैपनि उद्यमीले कानुनविपरीत कार्य गरेमा सजाय पाउनुपर्छ, यसमा कसैको विमति छैन । तर, अन्तर्राष्ट्रिय अभ्यासविपरीत व्यवसायीमाथि हुने धरपकड र हतोत्साही गर्ने कार्य तत्काल रोकिनुपर्छ ।’

नीतिगत अस्पष्टता र झन्झटिलो व्यवस्थाका कारण व्यवसायीहरू मर्कामा परेको उनको तर्क छ । हालै देखिएको ‘एमआर’ (बजार अनुगमन/नियमन) सम्बन्धी समस्याबारे चेम्बरले वाणिज्य मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले सरकारले नीति निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल नगरेको गुनासो गरे ।

कानूनको शासनलाई आत्मसात गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघजस्ता संस्थाहरूले सक्रिय र एकीकृत रूपमा पहल गर्नुपर्नेमा उहाँले विशेष जोड दिए । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =