रुस ‘ओपेक प्लस’ मै रहने, युएईको बहिर्गमनपछि पनि विश्व ऊर्जा बजारमा सहकार्य जारी रहने

एजेन्सी । पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) र यसका सहयोगीहरूको समूह ‘ओपेक प्लस’ मा रुसको सहभागिता यथावत रहने क्रेमलिनले स्पष्ट पारेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) ले उक्त तेल गठबन्धनबाट बाहिरिने घोषणा गरेपछि रुसले युएईको यो निर्णयलाई सम्मान गर्दै विश्वव्यापी ऊर्जा बजारमा उसको जिम्मेवार भूमिकाको स्वागत गरेको छ ।

युएईले आगामी मे १ देखि लागू हुनेगरी ओपेक र ओपेक प्लस दुवै समूहबाट अलग हुने घोषणा गरेको थियो । ओपेकको तेस्रो ठूलो तेल उत्पादक राष्ट्रको रूपमा रहेको युएईको बहिर्गमनले विश्वव्यापी तेल आपूर्ति र मूल्य निर्धारणमा यस ब्लकको प्रभाव केही कमजोर हुनसक्ने आकलन गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युएईसँगको रचनात्मक संलग्नता र द्विपक्षीय ऊर्जा वार्ताको ढाँचालाई निरन्तरता दिने अपेक्षा राखेको बताए  ।

सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएलाद्वारा स्थापित ओपेकको मुख्य उद्देश्य तेल उत्पादन नीतिमा समन्वय गरी सदस्य राष्ट्रहरूको हित संरक्षण गर्नु र स्थिर राजस्व सुनिश्चित गर्नु हो । सन् १९६७ मा यसको सदस्य बनेको युएई बाहिरिएसँगै अब ओपेकमा ११ सदस्य राष्ट्र मात्र बाँकी रहनेछन् ।

ओपेक प्लस गठबन्धनमा भने अन्य १० गैर–ओपेक तेल उत्पादक राष्ट्रहरू सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =