‘लालीबजार’ प्रदर्शनमा रोकपछि कलाकार सडकमा (तस्बिरहरू)

वादी समुदायका महिलाको सङ्घर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्र प्रदर्शनअघि नै विवादमा परेको छ

काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाएपछि चलचित्रसँग सम्बद्ध कलाकार र निर्माण टोली सडकमा उत्रिएका छन्।

वादी समुदायको कथामा आधारित यस चलचित्रको प्रदर्शन रोक्न माग गर्दै वैशाख १५ गते रोशनी बादी नेपालीले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले सोही दिन दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन पनि निर्देशन दिएको छ।

अदालतको आदेशसँगै वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘लालीबजार’ को प्रदर्शन रोकिएको छ। साथै, वैशाख १५ गते काठमाडौँको सिभिल मल, सुनधारामा तय गरिएको प्रिमियर शो समेत स्थगित गरिएको निर्माण टिमले जनाएको छ।

यसअघि चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट ‘यु’ (युनिभर्सल) प्रमाणपत्र प्राप्त गरिसकेको थियो, जसअनुसार उक्त फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने थियो।

अदालतको निर्णयको विरोधमा आज (बुधवार) निर्देशक यम थापा, निर्माता रवीन्द्र सिंह बानिया तथा कलाकारहरू स्वस्तिमा खड्का, निश्चल बस्नेत र खगेन्द्र लामिछाने लगायतले माइतीघरमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन्।

यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको हो। वादी समुदायका महिलाको सङ्घर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्र प्रदर्शनअघि नै विवादमा परेको छ।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =