अध्यादेशप्रति रास्वपा सांसद गणेश कार्कीः ‘यो बहादुरी होइन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारले संसद् छल्दै अध्यादेश ल्याएको भन्दै आलोचना गरेका छन् ।
झन्डै दुई तिहाइ बहुमतको सरकार हुँदाहुँदै अधिवेशन रोक्दै अध्यादेश ल्याउनु बहादुरी नभएको उनको टिप्पणी छ । “झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू केही भन्ने कुरा पछि खुल्ला होला, तर यो बहादुरी भने होइन,” कार्कीले लेखेका छन्र ।
अध्यादेश संविधानले दिएको अधिकारअनुसार ल्याइने भए पनि यसको प्रयोगमा संविधानको मर्मको पालना हुनुपर्ने उनले जोड दिएका छन् । “यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन,” उनले भने, “संविधान अक्षरले मात्रै बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।”
कार्कीले अहिलेका विपक्षी दलले विगतमा अध्यादेश ल्याउँदा प्रश्न उठाएको स्मरण गर्दै अहिले आफ्नै सरकार हुँदा पनि त्यही प्रश्न दोहोर्याइरहेको बताएका छन् ।








