नयाँ ट्रेकिङ पिक ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’

काठमाडौं । नेपालको साहसिक पर्यटन क्षेत्रमा नयाँ सम्भावना पहिचान गर्ने क्रममा नयाँ ट्रेकिङ पिक ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को पहिचान गरिएको छ ।

सिन्धुपाल्चोकस्थित जुगल हिमश्रृङ्खलामा ५ हजार ५७० मिटर उचाईमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ लाई नयाँ पर्यटकीय गन्तव्य रूपमा पहिचान गरिएको हो ।

सोमवार जुगल गाउँपालिकाले काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँच सदस्यीय टोलीले वैशाख ३ गते उक्त पिकको पहिलो औपचारिक आरोहण गरेको जानकारी दिएको हो ।

गाउँपालिका र जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा भएको अध्ययन तथा अन्वेषण परियोजनाअन्तर्गत पिकको आरोहण गरिएको जनाइएको छ ।

राजधानी काठमाडौँबाट नजिकै अवस्थित यस पिकको पहिचानसँगै जुगल क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा स्थापित गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । लामो समयदेखि ओझेलमा परेको यो क्षेत्र अब साहसिक तथा पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्य बन्ने गाउँपालिकाको अपेक्षा छ ।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जुगल ट्रेकलाई आन्तरिक पर्यटकको रोजाईको केन्द्रको रूपमा विकास गरिने बताए । उनले यस क्षेत्रको पूर्वाधार विकासको काम भइरहेको बताए ।

गाउँपालिकाले ४ हजार ७ सय मिटर उचाइ रहेको जुगल बेसक्याम्पमा झोलुङ्गे पुल निर्माणको लागी अध्ययन गरिरहेको पनि जानकारी दिए । तर नेपालको कानुनमा ५ सय मिटरको पुल मात्रै बनाउने नीति रहेकोले केही समस्या हुने देखिएको बताए ।

उक्त पुल बनेमा संसारकै सबैभन्दा माथिको उचाईमा हुने दाबी गरे । उनले स्थानीय तहमा भएका पर्यटकीय क्षेत्र प्रवर्धन गर्न संघीय सरकारले सहयोग नगरेको गुनासो गरे ।

नेपाल पर्वतारोहण संघका पुर्वअध्यक्ष एवं पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जुगल एभरेष्ट भ्यु प्वाइन्टमा जान परमिट लिनु नपर्ने बताए । परमिट लिन नपर्नेभएपछि यो पिकमा उल्लेख पर्यटकहरू जाने उनको विश्वास छ ।

उनले म्याग्दी हिमालमा परमिट लिन नपरेपछि उल्लेख्य पर्यटक जान लागेको उल्लेख गर्दै प्रचारप्रसारमा ध्यान दिएमा जुगल पिक पनि पर्यटकको रोजाईमा पर्न सक्ने बताए ।

उनले यो यो पिकबाट धौलागिरि, मनास्लु, अन्नपूर्ण पनि देख्न सकिने बताए । यस क्षेत्रमा पर्यटक बढ्ने बित्तिकै स्थानीयहरूको आर्थिकस्तरमा पनि सुधार आउने उल्लेख गरे ।

उनले भने, ‘म्याग्दी हिमालमा पहिला हामीले मुस्किलले १६/१७ वटा परमिट बेच्ने गथ्र्यौ, अहिले त्यहाँ परमिट चाहिँदैन, सयौँ संख्यामा पर्यटक जान्छन् । यहाँ पनि तपाईँहरूले प्रचारप्रसारको राम्रो सामग्री तयार पार्नुभयो भने काठमाडौँबाट नजिकको गन्तव्य भएको र धौलागिरी, मनास्लु, अन्नपूर्ण समेतको भ्यु देख्नसक्ने पर्यटकको रोजाईमा पर्नेछ, संसारको उत्कृष्ट गन्तव्य बन्नेछ ।’

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले स्थानीय सरकारको अध्ययनबाट पर्यटन क्षेत्रमा भएको अध्ययन पर्यटन क्षेत्रको लागी सकारात्मक भएको बताए ।

उनले टानले गर्नुपर्ने काम हाल स्थानीय तहहरूले गरिरहेको उल्लेख गरे । यसले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रमा ठुलो योगदान दिने उनको भनाई छ । उनले जुगल पिकको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए ।

उनले ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ ट्रेकिङमा जाने पर्यटकहरूलाई आवश्यक पूर्वाधार निर्माण नहुन्जेल गाउँपालिकाले निजी क्षेत्रसंगको सहकार्यमा मेनुसहितको प्याकेज तयार गर्न सुझाव दिए । यसले स्थानीय तहलाई पनि आर्थिक सहयोग हुने बताए ।

हाल होमस्टे लगायतका अवधारणाका कारण अधिकांश ट्रेकिङ एजेन्सिसहरुसंग टेन्ट सुविधा नरहेको उनको भनाई छ । उनले पूर्वाधार विकास नभएसम्म पर्यटन विकास भित्र्याउन नसकिने बताए । उनले पर्यटकको सुरक्षामा पनि ध्यान दिनुपर्ने बताए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्चे शेर्पाले नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण भएपनि यसलाई चिन्न नसकिएको बताए । उनले नेपालका राजनीतिक दलहरूको ध्यान पर्यटन विकासमा जान नसकेको गुनासो गरे ।

अब बोलेर भन्दा काम गरेर देखाउनुपर्ने समय आएको उल्लेख गरे । पर्यटन व्यवसाय थोरै लगानी गरेर धेरै प्रतिफल लिन सकिने क्षेत्र भएको बताए । पर्यटन उद्योगबाट मनग्य आम्दानी लिनेगरी काम गर्नुपर्ने उनको भनाई छ ।

उनले जुगललाई आन्तरिक तथा बाह्य दुवै पर्यटकको गन्तव्यको रूपमा विस्तार गर्न सकिने बताए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपाललाई छिटो धनी बनाउने क्षेत्र नै पर्यटन क्षेत्र रहेको बताए । अन्य उद्योगका लागी कच्चा पदार्थ आयात गर्नुपर्ने भएपनि पर्यटन उद्योगका लागी नेपालसँग पर्याप्त मात्रमा कच्चा पदार्थ रहेको उल्लेख गरे ।

उनकाअनुसार नेपालमा भएका हिमाल, पहाड, ताल तलैयाँ, जातजाती, संस्कृति, रहनसहन सबै पर्यटन क्षेत्रका कच्चा पदार्थ हुन् । यसलाई परिचालन र प्रवर्धन गर्नमा ध्यान दिनुपर्ने उनले बताए । उनले जुगल पिक धेरै व्यवसायीहरूको रोजाईमा पर्ने पनि बताए ।

गाउँपालिकाकाअनुसार पिकको आरोहण तुलनात्मक रूपमा सहज र सुरक्षित मानिएको छ । कुनै जटिल प्राविधिक सीप वा विशेष उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शारीरिक तन्दुरुस्ती भएका पर्यटकहरूले यसलाई सहजै आरोहण गर्न सक्नेछन् । यसले नयाँ तथा अनुभवहीन पदयात्रीहरूलाई पनि हिमाल आरोहणतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौँसँग नजिक रहेको कारण समय र लागत पनि कम लाग्नेछ । यस क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण विशेषता यसको भौगोलिक अवस्थिति र दृश्यावलोकन क्षमता हो । ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ बाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित चोयु, मकालु, ल्होत्से र शिशापाङ्मा जस्ता ८ हजार मिटरभन्दा अग्ला पाँच हिमालहरू प्रत्यक्ष अवलोकन गर्न सकिन्छ भने जुगल हिमशृङ्खलाका दर्जनौँ अन्य हिमचुचुराहरू पनि नजिकबाट देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + five =