तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा

चितवन । चितवन जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् ।

चितवनमा उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि चितवनका किसान चिन्तित बनेका हुन् ।

विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, करेलालगायत तरकारीले उचित मूल्य पाउन नसकेको बताइन् । उनले भनिन्, ‘अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौँ ।’

बाह्र बिगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी उनी तरकारीले उचित मूल्य नपाउँदा आफूलगायत किसान मारमा परेको बताइन् । उनका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा उठ्न नसकेको उनको भनाइ छ ।

यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उनले दुई बिगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आएकी छन् । उनको बारीमा अहिले तने बोडी, काँक्राजस्ता तरकारी लगाउँदै आएकी छन् ।

उनले अहिले १० कट्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाएपछि त्यतिकै राखेकी छन् । उनले भनिन्, ‘तरकारीले मूल्य पाउन सकेन बिचौलिया मोटाएको देखियो ।’ किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानले तरकारी बिक्री गर्न सकेका छैनन् ।

उनका अनुसार लागत मूल्यसमेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान सङ्घर्ष समिति बनाएर प्रदर्शन गर्ने तयारीमा किसान रहेको सङ्घर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताइन् ।

न्यौपानेले भनिन्, ‘किसानसँग प्रतिकेजी रु पाँचदेखि १० मा किनेर उपभोक्ताहरुकामा पुग्दा रु ७० देखि ८० मा बिक्री हुने गरेको छ ।’ आफूहरुले बजारमा उपभोक्ता मूल्य बुझेको बताउँदै उनले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताइन् । बीउ, मल, विषादी, जनशक्ति, सिँचाइ, ढुवानीको लागत मूल्यसमेत उठ्न नसकेको उनले बताइन् ।

राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न उनले आग्रह गरिन् । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उनको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उनले जानकारी दिइन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आइएको छ ।

जहाँ एक हजार किसान सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेको इकाइका प्रमुख महेश रेग्मीले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =