अधिकार बाँडफाँड नहुँदा संघीयता बद्नाम हुँदै गएको कांग्रेस प्रवक्ताको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकार बाँडफाँड हुन नसक्दा संघीयता बद्नाम हुँदै गएको टिप्पणी गरेका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले यस्तो बताएका हुन् । तीन तहको अधिकार स्पष्ट बनाई संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । संघीयता खर्चिलो, महँगो र अव्यवहारिक नभई उचित व्यवस्थापनमा ध्यान दिन नसकिएको उनको बुझाई छ । ‘कतिपयले संघीयताको बदनाम गर्ने गरेका छन् । संघीयता खर्चिलो पनि होइन महंगो पनि होइन । र यो अव्यवहारिक पनि होइन । सञ्चालन गर्न नजान्ने, अधिकार नदिने, त्यसलाई दरिलो र व्यवस्थित नगर्ने आरोपित मात्र गर्ने कुरा न्यायोचित हुदैन’ उनले भने ।
चालिसेले एउटा चिकित्सक वा डाक्टर खराब हुनसक्ने भएपनि चिकित्सा विज्ञान आफैंमा खराब नहुने उदाहरण दिँदै केही कमजोरीका आधारमा संघीय व्यवस्थामाथि प्रश्न उठाउनु उचित नहुने बताए । उनले केन्द्रीय सरकार र स्थानीय सरकारबीच शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा अधिकारको ओभरल्याप रहेको बताए । ‘एउटा चिकित्सक र एउटा डाक्टर खराब हुनसक्छ । तर चिकित्सा विज्ञान आफैंमा खराब होइन । यस्तो किसिमको परिभाषाले हामीले लोकतन्त्रको हातखुट्टाहरुलाई हामीले कमजोर गराउँदैछौँ । हामीले स्थानीय तहका समस्या के हुन भन्ने कुरामा ध्यान दिन सकेनौँ’ उनले भने ।
उनले संघबाट पठाइने कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले प्रभावकारी रूपमा परिचालन गर्न नसक्ने अवस्था रहेको भन्दै स्थानीय तहलाई कर्मचारी नियुक्तिको अधिकार दिन ढिलाइ गर्न नहुने बताए ।








