काठमाडौंमा होस्टेल अनुगमन कडाइ: मापदण्ड नपुगे कारबाही, सुधारलाई प्राथमिकता

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘होस्टेल सञ्चालन व्यवस्थापन कार्यविधि, २०८०’ जारी गरेसँगै महानगरभित्रका सबै होस्टेलहरूलाई नियमन र अभिलेखीकरणको दायरामा ल्याउन शुरु गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार महानगरपालिकाभर अहिले पाँचवटा अनुगमन उपसमितिहरू सक्रिय रहेका छन् । जसमा वडा कार्यालय र व्यवसायी संघका प्रतिनिधिहरू पनि सहभागी छन् । महानगरले मुख्यतया ६ वटा महत्वपूर्ण पाटाहरूमा केन्द्रित रहेर अनुगमन गरिरहेको छ ।

प्रशासनिक अवस्था, भौतिक पूर्वाधार (शौचालय, किचेन आदि), आर्थिक पारदर्शिता, खाद्यान्नको गुणस्तर, अभिलेखीकरण र विद्यार्थी कल्याणबारे अनुगमन गरिएको उनले बताए । आफूहरुको मुख्य उद्देश्य होस्टेल बन्द गर्ने भन्दा पनि सुधार गर्ने भएको र व्यवसायीहरूलाई क्रमिक रूपमा सुध्रिने मौका दिइने बताए । अनुगमनका क्रममा कतिपय होस्टेलहरू महानगरमा दर्ता नै नभई सञ्चालन भएको भेटिएका छन् भने कतिपयमा न्युनतम पूर्वाधारको समेत अभाव देखिएको छ ।

महानगरले कमजोरी देखिएका होस्टेलहरूलाई निश्चित समय सीमा तोकेर सुधार गर्न निर्देशन दिएको छ । यदि दिएका सुझावहरू कार्यान्वयन नभएमा कार्यविधि अनुसार कडा कारबाही र होस्टेल नै बन्द गर्ने प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले व्यवसायीहरूको हकहित प्रवद्र्धन गर्दै मर्यादित व्यवसायको वातावरण सिर्जना गर्ने महानगरको दृढता रहेको व्यक्त गरे ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य अनिलकुमार श्रेष्ठले अनामनगर क्षेत्रका होस्टेलहरूको स्थलगत निरीक्षण गर्दै व्यवसायीहरूलाई स्वास्थ्य र सरसफाईमा विशेष केन्द्रित हुन निर्देशन दिए ।

अनुगमनका क्रममा उहाँले होस्टेल व्यवसाय केवल पैसा कमाउने माध्यम मात्र नभई एक संवेदनशील सेवामूलक क्षेत्र भएको स्पष्ट पारे । श्रेष्ठकाअनुसार होस्टेल सञ्चालकहरूमा सामान्य स्वास्थ्य सम्बन्धी ज्ञान हुनु अनिवार्य छ ।

उनले विशेषगरी खानेकुराको गुणस्तरमा जोड दिँदै सकेसम्म अर्गानिक खानेकुराहरू खुवाउन सुझाव दिए ।

निरीक्षणका क्रममा केही गम्भीर समस्याहरू पनि देखिएका छन् । भ¥याङको चेपमा समेत विद्यार्थी सुताउने गरिएको र झ्यालै नभएको कोठाहरूमा विद्यार्थी व्यवस्थापन गरिएको गुनासो प्राप्त भएको भन्दै ती क्षेत्रहरूको पनि अनुगमन बाँकी रहेको उनले बताए । श्रेष्ठले घर भाडा महँगो हुनु र विद्यार्थीको चाप कम हुनु व्यवसायीका दुःखका पाटो भएपनि त्यसको बहानामा स्वास्थ्यमा हेलचेक्र्याइँ गर्न नपाइने बताए ।

यो अनुगमन काठमाडौं महानगरपालिकाले पहिलो पटक फिल्डमै आएर शुरु गरेको हो । यसभन्दा अगाडि नीतिगत छलफलहरू भएपनि प्रत्यक्ष अनुगमन नहुँदा धेरै त्रुटिहरू भेटिएको उनले बताए । अझै पनि ३–४ वटा होस्टेलमा उपलब्धिमूलक नतिजा देखिएको र आगामी दिनमा पनि यस्ता अनुगमनहरू निरन्तर रहने उहाँले चेतावनी दिएका छन् ।

महानगरको यो अनुगमनले विद्यार्थीका लागि स्वस्थ र सुरक्षित वातावरण सुनिश्चित गर्ने मात्र नभई होस्टेल क्षेत्रलाई एउटा मर्यादित र व्यवस्थित सेवामूलक व्यवसायको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

झापाको दमक घर भएकी स्वस्तिका श्रेष्ठ ब्याचलर्स फस्र्ट इयरको परीक्षाको तयारीका लागि काठमाडौं आएको चार महिना भएको छ । पहिलो पटक होस्टेल बस्न थालेकी उनले शुरुमा धेरै चिन्ता लिए पनि अहिलेको आफ्नो जीवनशैलीप्रति पूर्ण सन्तुष्ट रहेको बताइन् ।

अनामनगरको एक होस्टेलमा थ्री–सिटर कोठामा बसिरहेकी स्वस्तिकाले मासिक १२ हजार रुपैयाँ शुल्क तिर्दै आएकी छन् । यो शुल्कमा उनले एट्याच्ड बाथरुम, बिहान–बेलुकाको खाना र दिउँसोको खाजा सहितका सुविधाहरू पाएकी छन् । ‘मुख्य चिन्ता त खानाकै थियो तर खाना र सरसफाई दुवै एकदमै राम्रो छ,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् ।

होस्टेलको वातावरण पारिवारिक रहेको र सञ्चालकदेखि कर्मचारीहरूसम्म सहयोगी रहेको उनले बताइन् । पहिलो अनुभव भएपनि उनले होस्टेललाई पढ्नका लागि उपयुक्त स्थानको रूपमा पाएकी छन् । स्वस्तिकाकाअनुसार होस्टेलको रुम अकोमोडेशन र अन्य व्यवस्थापनले गर्दा बाहिरबाट पढ्न आउने विद्यार्थीलाई सजिलो भएको छ ।

यद्यपि सबै होस्टेलहरूको अवस्था यस्तो नहुन सक्ने भन्दै महानगरको अनुगमनले अन्य विद्यार्थीले पनि यस्तै किसिमको स्वस्थ वातावरण पाउने आशा उनि गर्छिन् । उनले होस्टेलमा बस्दा सरसफाई र अनुशासनलाई विशेष प्राथमिकता दिनुपर्ने आफ्नो बुझाइ रहेको बताइन् ।

होस्टेल व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य दिनेश पराजुलीले काठमाडौं महानगरपालिकाको अनुगमन कार्य सहरानीय रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । लामो समयको ग्यापपछि शुरु भएको अनुगमनले बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्ने उहाँले विश्वास व्यक्त गरे ।

पराजुलीकाअनुसार अहिले कतिपय व्यवसायीहरू कुनै पनि संघ वा वडामा दर्ता नभई आफूखुशी होस्टेल सञ्चालन गरिरहेका छन् ।

‘हामीले दर्ता भएका र नभएका होस्टेलहरूको विवरण महानगरलाई बुझाएका छौं,’ उनले भने ‘नियम संगत चल्नेहरूलाई प्रोत्साहन र नियम नमान्नेहरूलाई कारबाही गर्ने प्रक्रियामा सरकारी निकायलाई हाम्रो पूर्ण सहयोग रहनेछ ।’

महानगरले ल्याएको मापदण्डका अधिकांश बुँदाहरू व्यवहारिक रहे पनि केही कुराहरू जस्तै लाइब्रेरी र खेलकुदका लागि ठूलो ठाउँ उपलब्ध गराउन अहिलेको काठमाडौंको महँगो भाडा दरका कारण चुनौतीपूर्ण रहेको उनले औंल्याउनु भयो । तर समग्रमा व्यवसायीहरू व्यवस्थित हुनैपर्नेमा उनले जोड दिए ।

होस्टेल व्यवसायीहरूले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरण दिनु आफ्नो कर्तव्य भएको वोध गर्दै महानगरको शिक्षा विभाग र वडा कार्यालयसँग सहकार्य गरिरहने प्रतिवद्धता उनले जनाए ।

अनुगमनले केवल गल्ती खोज्ने मात्र नभई व्यवसायीलाई घच्घचाउने काम गर्ने उनको बुझाइ छ । काठमाडौं महानगरपालिकाले आईतवार अनामनगरस्थित महिला होस्टेलहरुको अनुगमन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =