बौद्धिक सम्पती संरक्षण कमजोर हुँदा ब्राण्ड जोगाउन कठिनः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा बौद्धिक सम्पती संरक्षण प्रणाली कमजोर र ढिलो रहँदा स्वदेशी उद्योगी–व्यवसायीहरू मारमा परिरहेको बताएका छन् ।

विश्व बौद्धिक सम्पती दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खुला सीमाना र बजारका कारण नक्कली उत्पादन बढाएको बताउँदै बैद्धिक सम्पत्ति संरक्षण राम्रोसँग हुन जरुरी रहेको बताए ।

ढकालले आफ्नो हेरिटेज ग्रुपका उत्पादनहरू समेत अरू व्यवसायीले कपी गरेर बजारमा ल्याउने गरेको उल्लेख गर्दै यस्तो विषयमा गुनासो गर्दा तुरुन्त सुनुवाइ नहुने र प्रक्रिया अत्यन्तै लामो हुने समस्या रहेको बताए । उनकाअनुसार हालको संरचनाले आईपीसम्बन्धी विवाद समाधानमा १०–१५ वर्षसम्म समय लाग्न सक्ने अवस्था छ ।

अदालतमार्फत समाधान खोज्दा समेत लामो समय लाग्ने भएकाले नीतिगत सुधार आवश्यक रहेको उनले बताए । संस्कृति मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा बसेर छिटो र प्रभावकारी समाधान निकाल्ने ‘सर्टकट वे’ खोज्नुपर्ने उनले बताए ।

ढकालले खाद्य क्षेत्रदेखि संगीत, सिर्जनात्मक क्षेत्र, खेलाडी तथा स्पोट्र्स गुड्ससम्म आईपीको महत्व बढ्दै गएको बताए ।

उद्योगी–व्यवसायी नै आईपीबाट दीर्घकालीन लाभ लिने पक्ष भएकाले एफएनसीसीआईले पनि यस विषयलाई प्राथमिकतामा राखेर छुट्टै समिति गठन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

नयाँ–नयाँ प्रविधि र कानून विकास भइरहेका बेला पछि पर्न नहुने बताउँदै उहाँले निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =