सुकुम्वासी बस्तीमा डोजरः विस्थापितलाई नागार्जुन सार्ने तयारी

काठमाडौँ । नदी किनारमा रहेका सुकुम्वासी बस्तीहरू हटाउने आफ्नो अभियानलाई सरकारले तीव्र पारेको छ ।

सोही अन्तर्गत शनिवार बिहानैदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी महानगरले थापाथली क्षेत्रका बस्तीहरूमा डोजर चलाएको हो ।

महानगरपालिकाकाअनुसार नदी किनारका अव्यवस्थित संरचना हटाउने यो अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँका सुकुम्वासी बस्तीहरू हटाइनेछ भने दोस्रो चरणमा बाँकी रहेका अन्य सुकुम्वासी बस्तीहरू हटाउने योजना रहेको महानगरले जनाएको छ ।

बस्तीबाट हटाइएका नागरिकहरूको व्यवस्थापनका लागि महानगरले विशेष प्रक्रिया अपनाउने भएको छ । विस्थापित नागरिकहरूलाई सुरुमा विभिन्न ‘होल्डिङ सेन्टर’मा लगिनेछ । त्यहाँ उनीहरूको वास्तविक अवस्थाको पहिचान अर्थात् ‘सेग्रिगेसन’ गरिनेछ । विस्थापितहरूलाई राख्नका लागि सरकारले नागार्जुन नगरपालिका (साविक इचंगुनारायण गाविस) मा सुविधा सम्पन्न अपार्टमेण्ट निर्माण गरेको थियो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला वि.सं २०६९ सालमा ती भवन निर्माणका लागि सरकारले १२ करोड रुपैयाँ लगानी गरेको थियो । नागार्जुनका दुई स्थानमा बनाइएका ती दुई भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ गरी जम्मा २२४ ब्लक उपलब्ध छन् ।

वि.सं. २०६९ मा निर्माण सम्पन्न भएपनि स्थानीयको अवरोधका कारण अहिलेसम्म तिनलाई प्रयोगमा ल्याउन सकिएको थिएन । अब भने महानगरले ती भवनहरूको उपयोग गरी वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =