एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित

काठमाडौँ । एपिएफको महिला टोलीसँगै पुरुष टोलीले दशौं प्रधानमन्त्री कप एनभिएल लिगमा हार सामना गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवार भएको खेलमा एपिएफको पुरुष टोली रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग ३–० को सोझो सेटमा पराजित भयो ।

महिला टोली भने एभरेस्ट भलिबल क्लबसँग ३–१ को सेटमा पराजित भयो । रुकुम पश्चिम र एभरेस्ट दुवैमा विदेशी खेलाडी अनुबन्धित छन् । तीन जना पाकिस्तानी खेलाडीको साथ पाएको रुकुम पश्चिमले विभागीय टोली एपिएफलाई २५–१४, २५–२१ र २५–१५ ले पराजित गर्यो । रुकुम पश्चिमबाट गण्डकी प्रदेशका खेलाडी पनि खेलिरहेका छन् । महिलातर्फ तीन जना भारतीय खेलाडीको साथमा रहेका एभरेस्टले एपिएफलाई २५–२०, १६–२५, २५–१७ र २५–१६ ले हरायो ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहने एपिएफ घरेलु प्रतियोगिताको सबैभन्दा बलियो टोली रहँदै आएको थियो । भारतीय खेलाडी केपी अनुश्रीको साथ पाएको एभरेस्ट एउटा सेटमा बाहेक एपिएफमाथि पूर्ण हाबी भयो । दोस्रो खेलमा एपिएफको पहिलो हार हो । महिलातर्फ नै न्यु डायमण्डले सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । न्यु डायमण्डले सुदूरपश्चिमको चुनौती २५–११, २५–३ र २५–१ ले पन्छाएको हो ।

एपिएफले आफ्नो पहिलो खेलमा बिहीबार त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो । एभरेष्टले भने नेपाल पुलिस क्लबसँग ३–० को पराजय बेहोरेको थियो ।
पुरुषतर्फ पुलिसले कोशी प्रदेशलाई ३–१ सेटमा हरायो । पुलिसले कोशीलाई २५–२३, २२–२५,२५–२० र २५–२२ ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =