अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ: प्रधानमन्त्री बालेन
सुकुम्बासी व्यवस्थापनमा बल प्रयोग नगरी सुरक्षित स्थानान्तरण गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंका नदीकिनारमा रहेका सुकुम्बासी बस्ती व्यवस्थापनबारे विस्तृत धारणा सार्वजनिक गर्दै मानवीयतासहित सुरक्षित स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले वर्षेनि बाढीका कारण थापाथली, गैरीगाउँ, मनोहरा लगायतका नदीकिनार क्षेत्रका बस्तीहरू जोखिममा पर्ने र ठूलो संख्यामा मानिसहरू सामान छोडेर ज्यान जोगाउन बाध्य हुने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन् ।
यो समस्या वर्षौँदेखि समाधान हुन नसकेको दीर्घकालीन चुनौती रहेकाे भन्दै अब थाती नराखी स्थायी रूपमा समाधान गर्नुपर्ने आवश्यकता रहेकाे उनले बताए ।
नदीकिनारका अव्यवस्थित बस्तीले ढल निकास प्रणालीमा समेत अवरोध पुर्याउने र काठमाडौँ उपत्यका फोहोर तथा दुर्गन्धित बन्ने समस्या बढाएको उनले बताएका छन् । त्यसैले बल प्रयोग नगरी मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना अघि बढाइएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले आफूले विगतमा गरेका प्रतिबद्धता, पार्टीका वाचापत्र तथा सरकारका प्राथमिकतामा समेत सुकुम्बासी व्यवस्थापन समेटिएको उल्लेख गर्दै ती प्रतिबद्धता पूरा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।
उनका अनुसार नदीकिनारका जोखिमपूर्ण बस्ती र देशभरका वास्तविक भूमिहीन सुकुम्बासीलाई छुट्याएर उचित प्रक्रिया पूरा गरी दीर्घकालीन समाधानतर्फ अघि बढिनेछ ।प्रधानमन्त्री शाहले भनेका छन्, “ढुक्क हुनुहोस्, यो समस्याको स्थायी समाधान सरकारले गर्नेछ ।”








