प्रधानमन्त्री कप एनभिए लिगः आर्मीको विजयी शुरुवात

काठमाडौं । विभागीय टोली त्रिभूवन आर्मी क्लवको पुरुष टोलीले दशौं प्रधानमन्त्री कप एनभिए लिगमा विजयी शुरुवात गरेको दिन महिला टोलीले पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीवारदेखि शुरु भएको प्रतियोगितामा पुरुषतर्फ आर्मीले खिल्जी युवा क्लवमाथि ३–१ को सेटमा जित निकाल्दै सुखद शुरुवात ग¥यो । आर्मीकै महिला टोली भने विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लवसँग ३–१ ले पराजित भयो ।

उद्घाटन खेलसमेत रहेको पुरुषतर्फ खिल्जीले आर्मीमाथि चुनौती दिए पनि पार गर्न सकेन । खिल्जीले पहिलो सेट २५–१८ ले आफ्नो बनाउँदै अग्रता लियो । तर, त्यो लय कायम राख्न नसक्दा खिल्जीले खेलमा हार सामना गर्‍यो । आर्मी खिल्जीविरुद्ध दोस्रो सेट २५–२०, २५–२१ र २५–२० ले आफ्नो बनाउँदै खेलमा उत्कृृष्ट पुनरागमन गर्न सफल भयो ।

आर्मीकै महिला टोलीले बलियो एपिएफविरुद्ध चुनौती दिए पनि सफल भएन । एपिएफले पहिलो सेटमा प्रतिष्पर्धात्मक रूपमा २५–२३ ले आफ्नो बनायो । तर दोस्रो सेट आर्मीले २५–१७ ले आफ्नो पक्षमा राख्दै पुनरागमन गर्ने संकेत गर्‍यो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट पनि २५–१९ ले आफ्नो बनाउँदै आर्मीको लक्ष्य पूरा हुन दिएन । महिलातर्फ अर्को विभागीय टोली नेपाल पुलिस क्लबले पनि सुखद् शुरुवात गर्‍यो । स्पाइकर उषा भण्डारी चम्किएपछि पुलिसले एभरेस्ट भलिबल क्लवमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा एभरेस्टले पुलिसलाई निकै चुनौती दियो । तर, यो सेट पुलिसले २६–२४ ले आफ्नो बनायो ।

त्यसपछि भने बलियो आत्मबल बटुलेको पुलिस हाबी भयो । पुलिसले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१७ ले आफ्नो बनाउँदै एभरेस्टलाई पराजित गर्‍यो । पुरुषमा हेल्प नेपाल स्पोटर््स क्लबले बुढानीलकण्ठ भलिबल क्लबलाई २५–१३, २५–१७ र २५–१८ ले हरायो ।

आगामी १९ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ ८ टोलीको सहभागिता छ । महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई ६०, विधागत उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही र ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगितामा पुरुषतर्फ एनभिए च्याम्पियनसिपबाट छनोट भएका ८ टोली र महिलातर्फ ६ टोली गरी कुल १४ टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =