तान्या चटर्जीसँग रिसाए युजवेन्द्र चहल, हाले मानहानिको मुद्दा

उल्लू एपको चर्चित सिरिज गन्दी बातबाट पहिचान बनाएकी अभिनेत्री तान्या चटर्जी अहिले क्रिकेटर युजवेन्द्र चहलसँगको विवादका कारण चर्चामा छिन् । चहलले तान्यालाई मानहानिको नोटिससमेत पठाएका छन् । यो नोटिसपछि तान्याको भनाइ केही नरम देखिएको छ । केही दिनअघि तान्याले आफ्नो इन्स्टाग्राममा पापाराजीलाई चहलले आफूलाई “क्युट” भनेको देखाएकी थिइन् । तर चहललाई यसबारे जानकारी पाएपछि उनले मानहानिको नोटिस पठाएका हुन् ।
विवाद कहाँबाट सुरु भयो ?
हालै तान्यालाई मुम्बईमा देखिएको थियो र फोटो खिच्दा उनले जानाजानी आफ्नो फोन पापाराजीलाई देखाइन्, जसमा युजवेन्द्र चहलसँगको च्याट देखिन्थ्यो । च्याटमा उनले तान्याका दुई पोस्टमा “क्युट” कमेन्ट गरेका थिए । यो भिडियो चाँडै भाइरल भयो र चहलमाथि एक युवतीलाई परेशान गरेको आरोप लाग्न थाल्यो । पापाराजीसँग तान्याको यस्तो व्यवहारले क्रिकेटरको प्रतिष्ठामा असर परेको भन्दै उनले मानहानिको नोटिस पठाएका हुन् ।
आफ्नै भनाइबाट पछि हटिन् तान्या ?
गन्दी बातकी अभिनेत्रीले पछि केही अन्तर्वार्तामा यो विषयलाई सामान्य बनाउन खोजिन् । उनले चहलका सन्देशलाई हानिरहित बताएर यसलाई अनावश्यक रूपमा ठूलो बनाइएको दाबी गरिन् ।
एक अन्तर्वार्तामा उनले उनका वकिलहरूले कानुनी प्रक्रियामार्फत नोटिसको जवाफ दिनेछन् र यसले खासै केही परिवर्तन नगर्ने बताइन् । साथै, कसैलाई “क्युट” भन्नु अपराध नभएको पनि उनले जोड दिइन् । तान्याले भनिन्, “यो त केवल एउटा सामान्य प्रशंसा थियो, जसलाई चहलले गलत बुझे । मैले त केवल सन्देश शेयर गरेकी हुँ, तर यसलाई गलत तरिकाले प्रस्तुत गरियो । ‘क्युट’ शब्दमा के समस्या छ, मलाई बुझिन्न ।”
तान्याले चहलमाथि थप टिप्पणी गर्न अस्वीकार गर्दै भनिन्, “हे भगवान, म उनलाई राम्रोसँग चिन्दिनँ पनि । हामीबीच केवल दुईवटा डीएम थिए, सानो–सानो मिठो कुराकानी मात्र ।” उनले यस घटनालाई ठूलो बनाएकोमा जनतालाई दोष दिँदै भनिन्, “मानिसहरूले मलाई म्यासेज गर्दै थिए र भनिरहेका थिए कि त्यो बेला उनी विवाहित थिए, त्यसैले यस्तो कुरा चर्चामा आयो ।” तान्याले चहलविरुद्ध कुनै गम्भीर आरोप नलगाउँदै उनीहरूबीचको कुराकानी छोटो र सामान्य रहेको र घटनालाई अतिरञ्जित बनाइएको स्पष्ट पारिन् ।








