गोकर्णेश्वरमा सामुदायिक कुकुर बन्ध्याकरण अभियान (तस्बिरहरू)
नगरपालिकाको पहलमा खटिएका प्राविधिक टोलीले कुकुर समात्ने, स्वास्थ्य परीक्षण गर्ने र पशु सर्जनद्वारा शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने कार्य भइरहेको छ

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा सामुदायिक कुकुरको बढ्दो सङ्ख्याका कारण सडक दुर्घटना, रेबिजको जोखिम तथा जुनोटिक रोगको सम्भावित खतरा न्यूनीकरण गर्ने उद्देश्यले बन्ध्याकरण शिविर सञ्चालन गरेको छ। वडा नं. १ स्थित पुरानो स्वास्थ्य चौकी भवनमा आयोजित शिविरमा विभिन्न वडाबाट सङ्कलन गरिएका सामुदायिक कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको हो।
नगरपालिकाको पहलमा खटिएका प्राविधिक टोलीले कुकुर समात्ने, स्वास्थ्य परीक्षण गर्ने र पशु सर्जनद्वारा शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने कार्य भइरहेको छ। स्थानीय बासिन्दाको सहयोगमा टोल–टोलबाट ल्याइएका कुकुरहरूलाई बन्ध्याकरण पश्चात् व्यवस्थित तरिकाले उपचार गर्दै सुरक्षित रूपमा पुनः सोही क्षेत्रमा छोड्ने प्रक्रिया समेत अगाडि बढाइएको छ।
यस अभियानले विशेष गरी सडकमा हिँड्ने सर्वसाधारण, सवारीसाधन, विद्यालय जाने बालबालिका तथा समुदायलाई सम्भावित जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ। साथै, मानव र पशुबिच सहअस्तित्व कायम गर्दै व्यवस्थित सहरी वातावरण निर्माणतर्फ यो पहल महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
तस्बिरहरू:-










