निर्माणाधीन संसद् र ग्यालरी बैठक भवनको निर्माणमा तीव्रता दिन सांसदहरूको सुझाव

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सिंहदरबारमा निर्माणाधीन संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण कार्यमा भएको ढिलाइप्रति सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरूले संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागको ध्यानाकर्षण गराएका हुन् ।

भवनहरूमा अपाङ्गमैत्री तथा महिलामैत्री सुविधाको व्यवस्था सुनिश्चितता गर्न समेत उनीहरूको सुझाव छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद पदम परियारले भवन निर्माण विभागलाई हतारमा काम सक्ने नाममा गुणस्तरमा सम्झौता नगर्न सुझाव दिए । उनले धरहराजस्तै उद्घाटन गर्न हतारो गर्नको लागि नभई प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिए ।

विभाग आफैँ जिम्मेवार निकाय भएको उल्लेख गर्दै सांसद परियारले प्रभावकारी व्यवस्थापनमार्फत काम छिटो सम्पन्न गर्ने उपाय खोज्नुपर्नेमा जोड दिए ।

उनले भने ‘भवन निर्माण विभागलाई मेरो आग्रह छ । छिटो सक्ने नाममा नयाँ संसद् भवनलाई धरहरा मोडेलमा नगरौँ । अलिकति समय लाग्छ भने पनि ठिकै छ । अर्को कुरा, विभाग आफैँ पनि जिम्मेवार तहमा भएको कारण प्रभावकारी रूपमा कसरी छिटोभन्दा छिटो भवन निर्माण कार्य सम्पन्न गर्न सकिन्छ रु त्यो शिराबाट हेरौँ ।’

नेकपा ९एमाले०की सांसद रुक्मिणी कोइरालाले विभागको लक्ष्यअनुसार असार मसान्तसम्म संसद् भवन निमर्काणको काम सम्पन्न हुनेमा शंका व्यक्त गरिन् । उनले ग्यालरी बैठक कक्ष निर्माणमा पनि ढिलासुस्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले निर्माणाधीन भवनका शौचालय ढोकासमेत प्रयोग गर्न नसकिने अवस्थाको रहेको भन्दै प्रारम्भमै ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै महिला तथा अपांगमैत्री संरचना बनाउन समेत विभागको ध्यानाकर्षण गराइन् ।

उनले भनिन् ‘भन्न त उहाँहरूले नयाँ संसद् भवन आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको भन्नुभयो । तर काम हेर्दा अहिले पनि समयमै सम्पन्न हुनेमा शंका नै छ । अर्को कुरा ग्यालरी बैठक कक्ष निर्माणको बारेमा पनि म आएदेखि नै छलफल भइरहेको छ । हामी धेरै पटक अवलोकन पनि गयौँ । तर त्यहाँ पनि प्रभावकारी रूपमा काम हुन सकिरहेको छैन । अनि निर्माणाधीन संसद् बैठकका वासरुमका ढोकाहरू हामी छिर्नै नसक्ने रैछन् । हामीले त्यही बेला भनेका थियौँ त्यो ढोका ठिक हुँदैन ।’

नेकपा सांसद गोमादेवी तिमिल्सिनाले निर्माणाधीन संसद् भवनलाई अपांगमैत्री र महिलामैत्री बनाउन विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन् ‘निर्माणाधीन संसद् भवनको संरचनाहरू अपांगमैत्री र महिलामैत्री बनाउनुपर्छ । विभिन्न समयमा महिलाहरूका आफ्नै समस्याहरू हुन्छन् । त्यसकारण यस कुरामा ध्यान दिनुपर्छ ।’

बैठकपछि समितिका पदाधिकारीहरूले निर्माणाधीन ग्यालरी बैठक भवनको अनुगमन समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =