कम्बोडियाबाट ४६ नेपालीको उद्धार

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता गरेको छ ।

दूतावासका अनुसार ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका ती नेपालीहरूलाई नेपाल फर्काइएको हो । उनीहरू प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थिए ।

उद्धार गरिएका नेपालीहरूलाई अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने अनलाइन ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको पाइएको दूतावासले जनाएको छ । साथै, उनीहरू बिनाभिसा वा भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेको अवस्थामा फेला परेका थिए ।

दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपाली नागरिकलाई समेत स्वदेश फर्काउने प्रयास जारी रहेको जनाएको छ । “कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको तथा बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको छ,” दूतावासले भन्याे ।

उता, कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कले पछिल्लो समय नेपालीहरूको त्यहाँ जाने क्रम तीव्र रूपमा बढेको देखाउँछ । सन् २०२१ मा १०१ नेपाली मात्र भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा यो संख्या बढेर १९७७ पुगेको थियो । त्यसैगरी सन् २०२३ मा २९४०, सन् २०२४ मा ६४०४ र सन् २०२५ मा ९६७६ नेपाली कम्बोडिया गएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =