जय ट्रफी खेल्ने ६ टोलीकै टुङ्गो, शुक्रवार उपाधि प्रतिष्पर्धा

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शिर्ष ६ टोलीको टुङ्गो लागेसँगै आगामी सिजन जय ट्रफी (दुई दिवसीय) मेन्स इलाइट कप खेल्ने सबै टोलीको छनोट भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि प्रधानमन्त्री कपका शिर्ष ६ टोलीले आगामी संस्करणदेखि जय ट्रफी खेल्ने घोषणा गरेको थियो । बुधवार लिग चरणको खेल सकिएसँगै आगामी जय ट्रफी खेल्ने ६ वटै टोलीको टुङ्गो लागेको हो । बुधवार भएको लिगको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई एक विकेटले र मधेस प्रदेशले नेपाल पुलिस क्लवलाई चार विकेटले हराए ।
आर्मीसँगको साँघुरो हारपछि लुम्बिनी प्रदेश छैटौं स्थानमा रहँदै जय ट्रफीमा स्थान बनाउन सफल भयो । समान ९ खेलबाट सामान ९ अंक भएपनि गण्डकी प्रदेशलाई नेट रनरेटमा पछि पार्दै लुम्बिनी जय ट्रफीमा छनोट भएको हो ।
मधेस पनि पुलिसलाई हराउँदै चौथो स्थानमा उक्लिँदै जय ट्रफीका लागि छनोट भयो । हारको बाबजुद ९ खेलबाट ९ अंक जोड्दै पुलिस नेट रनरेटको आधारमा पाँचौं स्थानमा रह्यो । यसअघि प्रधानमन्त्री कपका शिर्ष चार टोलीले मात्र जय ट्रफी खेल्ने प्रावधान थियो । यसै संस्करणदेखि क्यानले शिर्ष ६ टोली जय ट्रफीको लागि योग्य हुने प्रावधान राखेको हो ।
कुल १० टोली सहभागी प्रधानमन्त्री कपको लिगमा आर्मी अपराजित रहँदै सुदूरपश्चिम प्रदेशविरुद्ध शुक्रवार फाइनल खेल्दैछ । ९ खेलबाट १७ अंक जोड्दै आर्मी शिर्ष स्थानमा रह्यो । आर्मीले आठ खेल जितेको थियो भने एक खेल वर्षको कारण हुन सकेन । सुदूरपश्चिम भने लिगमा दोस्रो स्थानमा रहँदै उपाधिका लागि प्रतिष्पर्धा गर्न लागेको हो ।
लिगमा सुदूरपश्चिमले ९ खेलबाट ६ जित निकाल्दै १२ अंक जोड्यो । सामान ९ खेलबाट एपिएफ र मधेसले समान समान ११ अंक जोडे । तर नेट रनरेटको आधारमा एपिएफ तेस्रो र मधेस चौथो स्थानमा रह्यो ।
वीरगञ्जमा भएको खेलमा पुलिसले घरेलु टोलीलाई मधेसलाई १३१ रनको सामान्य लक्ष्य दियो । मधेशले २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा लक्ष्य भेट्टायो । शुरुमा नै दुई विकेट गुमाएपछि मधेशको सुरुआत राम्रो हुन सकेन ।
ओपनर मायन यादव ५ रन र कप्तान अनिल साह १ रनमा नै आउट भए । त्यसपछि अरनिको यादवले ६५ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलको सामना गरेर तीन चौका र ६ छक्का प्रहार गरे । उनले तेस्रो विकेटका लागि हिमान्सु दत्तसँग ४८ रनको साझेदारी गरे ।
हिमान्सु १८ रनमा आउट भए । त्यसपछि फेरि मधेसले लगातार तीन विकेट गुमायो । तर अरनिको र रूपेश सिंहबीच सातौं विकेटका लागि अविजित ५४ रनको साझेदारी भयो । रूपेश सिंह २७ रनमा अविजित रहे । पुलिसको बलिङमा गुलशन झाले तीन, सागर ढकालले दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिस ४०.३ ओभरमा १३० रनको सामान्य योगफलमा समेटियो । मधेशका बलर पवन सर्राफ, रञ्जित कुमार र आशिक बैठाले समान तीन तथा अरनिकोले १ विकेट लिँदै पुलिसको इनिङ धरासयी बनाए । पुलिसका ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो ।
शंकर राना २७, रसिद खान १८, दिनेश खरेल १५ र गुलसन झा १५ रनमा आउट भए । जनकपुरको रामजानकी क्रिकेट मैदानमा लुम्बिनीले पनि आर्मीलाई १३९ रनको सामान्य लक्ष्य दियो । तर यो लक्ष्य पूरा गर्न आर्मीले २५.२ ओभरमा ९ विकेट गुमायो । आर्मीको कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले चार विकेटसँगै ब्याटिङमा ४१ रन बनाए । ३६ बलको सामना गरेका कुशलले सात चौका र एक छक्का प्रहार गरे । अर्जुन साउद २८, तृतराज दास १०, भीम सार्की १८ तथा बसिर अहमद १२ रनमा आउट भए । इमरान शेख १६ रनमा अविजित रहे ।
लुम्बिनीको बलिङमा सन्तोष यादवले पाँच र निर्मल गुरुङले चार विकेट लिए पनि आर्मीको जित रोक्न सकेन । सन्तोषले ६ ओभरमा १७ रन मात्र दिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी ३९.२ ओभरमा १३८ रनको सामान्य योगफलमा समेटिन पुग्यो । ओपनर रञ्जित खड्काले २८ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो ।
कप्तान देव खनाल २३, आकाश त्रिपाटी २१, प्रज्वल थापा १५ तथा सन्तोष ११ रनमा आउट भए । आर्मीको बलिङमा कुशल मल्लले चार, नरेन साउद र भीम सार्कीले समान दुई तथा बसिर अहमद र शाहव आलमले समान १ विकेट लिएका थिए ।








