सधैं प्रयोग र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्रै बन्यो: पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा प्रतिशोध, द्वेष र निषेधको भावना राख्न नहुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय एकता र सहकार्यमा जोड दिएका हुन् । “निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ,” उनले भनेका छन्, “परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन ।”

उनले जनचाहनालाई मनन गर्दै देशलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । “संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको माग सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढसंकल्पित बनौँ,” उनले उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई संकेत गर्दै सरकारलाई सतर्क रहन पनि सुझाव दिएका छन् । “आजको विषम र अशान्त विश्वमा हामीले आफूलाई जोगाउने, आवश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पुग्नुपर्ने देखिन्छ,” उनले भनेका छन् ।

देशलाई राजनीतिक प्रयोगशाला बनाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले विगतका परिवर्तन अपेक्षाअनुसार फलदायी हुन नसकेको जिकिर गरेका छन् । “राजनीति, राज्य पद्धति र शासन प्रणालीमा धेरै परिवर्तन भए पनि त्यो कोरा परिवर्तन मात्र भयो,” उनले भने, “सधैं प्रयोग र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्रै बन्यो ।”

अब विगतका कमजोरी सच्याउँदै प्रगतितर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । “समयको प्रवाहसँगै देश र समाजलाई प्रगतिको मार्गमा अघि बढाउनुपर्छ,” उनले भनेका छन् ।

सन्देशको अन्त्यमा उनले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्दै नेपाललाई शान्ति, उन्नति र मौलिक पहिचानबाट परिचालित राष्ट्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − six =