दुष्प्रचार भएको भन्दै सांसद खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुस्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा सुनियोजित रूपमा दुष्प्रचार गरिएको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएकी छन् ।

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै सांसद ओलीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक सूचना फैलाइएको दाबी गरेकी हुन् । उनले केही फेसबुक पेज, टिकटक अकाउन्ट तथा युट्युब च्यानलहरूले योजनाबद्ध रूपमा आधारहीन सामग्री प्रसारण गरेको आरोप लगाएकी छन् ।

ओलीका अनुसार प्रारम्भिक चरणमै सम्बन्धित व्यक्तिहरूलाई यस्तो गतिविधि रोक्न सचेत गराइएको थियो । तर चेतावनीलाई बेवास्ता गर्दै दुष्प्रचार निरन्तर जारी राखिएपछि बाध्य भएर कानुनी प्रक्रिया अघि बढाइएको उनले बताएकी छन् ।

उनले यस्ता गतिविधि सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने स्पष्ट पारेकी छन् । “यो योजनाबद्ध रूपमा गलत सूचना फैलाउने र मेरो व्यक्तिगत तथा सार्वजनिक छवि धूमिल पार्ने संगठित प्रयास हो,” उनले उल्लेख गरेकी छन् ।

सांसद ओलीले साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको प्रक्रियाअनुसार आवश्यक सबै कदम चाल्ने पनि जनाएकी छन् ।

सामाजिक सञ्जालको वर्तमान प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले लेखेकी छन्, “अहिलेको समयमा घृणा नै नयाँ मुद्राजस्तो बनाइएको छ । तर कसैको जीवनमा क्षति पुग्ने गरी घृणा फैलाएर लाभ कमाउने प्रवृत्ति अनैतिक मात्र होइन, अत्यन्तै अस्वीकार्य हो ।”

यस्तो मानसिकता समाजका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै उनले यसलाई कुनै पनि हालतमा सामान्यीकरण गर्न नहुने बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =