प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रसंघ महासचिव गुटेरसको बधाई

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् ।

८ अप्रिलमा पठाइएको पत्रमार्फत महासचिव गुटेरसले शाहको नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राष्ट्रसंघबीचको दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले नेपालमा युवा नेतृत्वको उदयलाई उल्लेख गर्दै सार्वजनिक जीवनमा उच्च इमानदारिता र नागरिक केन्द्रित शासन प्रणालीको आवश्यकता रहेकोमा जोड दिएका छन् ।

पत्रमा गुटेरसले भनेका छन्, ‘तपाईंको नेतृत्व यस्तो समयमा आएको छ, जहाँ नयाँ पुस्ताले निर्णायक प्रगति, सार्वजनिक जीवनमा उच्च इमानदारिता र नागरिकलाई सेवा प्रवाह गर्ने संस्थाको माग गरिरहेका छन् ।’

महासचिवले सन् २०३० को दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न नेपालस्थित राष्ट्रसंघीय टोलीले सरकारका प्राथमिकतामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले नेपालले संयुक्त राष्ट्रसंघसँग गर्दै आएको निरन्तर संलग्नता र बहुपक्षीय सहयोगप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा कूटनीतिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो राजनीतिक परिवर्तनपछि अन्तर्राष्ट्रिय समुदायले नेपालको अवस्थालाई चासोका साथ हेरिरहेका बेला यो सन्देशलाई कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =