डा.सुनिल कुमार शर्माले दुर्गम क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गरिदिने !

काठमाडौं । आर्थिक रूपमा अति विपन्न नागरिकलाई लक्षित गर्दै काठमाडौं मेडिकल कलेज प्रा.लि., दुवाकोट (भक्तपुर) ले पूर्ण वा आंशिक छुटमा उपचार सेवा प्रदान गर्ने घोषणा गरेको छ ।

पूर्व प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माले जारी गरेको सूचनाअनुसार मोरङसहित देशका विभिन्न दुर्गम जिल्लाका आर्थिक रूपमा कमजोर बिरामीलाई प्राथमिकतामा राखी उक्त सुविधा उपलब्ध गराइने भएको हो ।

सूचनाअनुसार हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, रोल्पा, रुकुम, सल्यान तथा कोशी प्रदेशअन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाका विपन्न बिरामीहरूलाई काठमाडौं मेडिकल कलेजद्वारा सञ्चालित सुपरस्पेसियालिटी अस्पताल, दुवाकोटमा आर्थिक अवस्था मूल्याङ्कनका आधारमा पूर्ण वा आंशिक छुट प्रदान गरिनेछ ।

यसैगरी दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाका विपन्न बिरामीहरूले पनि यो सुविधा लिन सक्नेछन् । सम्बन्धित व्यक्तिहरूले आफ्नो पालिका वा वडा कार्यालयबाट अनुसूची–२ को सिफारिस फाराम तथा अन्य आवश्यक कागजातसहित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ ।

डा. शर्माका अनुसार यो कार्यक्रम पहिलो चरणमा सुरु गरिएको हो र आगामी दिनमा थप विस्तार गरिनेछ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले यो पहल गरिएको उनले बताएका छन् ।

डा. शर्मा प्रतिनिधिसभामा सांसद रहँदा तलब–भत्ता नलिने व्यक्तिका रूपमा समेत चिनिन्छन् । सामाजिक तथा मानवीय सेवामा सक्रिय उनले गम्भीर बिरामीको निःशुल्क उपचार, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेहरूको उपचारमा सहयोग तथा एम्बुलेन्स हस्तान्तरण जस्ता कार्य गर्दै आएका छन् ।

उपचार सेवासम्बन्धी थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले ९८०२३३५११२ वा ९८०२३३५१०८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =