‘स्नातक तहसम्म नेपाली विद्यार्थीलाई नेपालमै पढाउनुपर्छ’

काठमाडौँ । नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
बिहीबार त्रिभूवन विश्वविद्यालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले नेपाली विद्यार्थीलाई नेपालमा नै अड्याउने र विदेशी विद्यार्थी पनि आकर्षित गर्नेगरी विश्वविद्यालयहरूले कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
पूर्र्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले मेडिकल शिक्षामा ठूलो सम्भावना रहेको बताए । उनले मेडिकल शिक्षामा भारतका विद्यार्थीलाई नेपालमा भित्र्याउन सकिने उल्लेख गर्दै बंगलादेश, श्रीलंका लगायतका अन्य देशका विद्यार्थीलाई पनि टार्गेट गर्नसक्ने बताए । उनले नेपालमा युनिक विषयलाई फोकस गरेर पाठ्यक्रम बनाएमा विद्यार्थीलाई आकर्षित गर्ने सकिने उल्लेख गरे । उनले पूर्वाञ्चल विश्वविद्यालयमा एमबिबिएस प्रोग्राम सुरु गर्न लागेको जानकारी दिए ।
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. विम श्रेष्ठले नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने बातारण बनाउनुपर्ने बताए । त्यसका लागि बाहिरका विश्वविद्यालयले दिने सुविधाहरूले नेपालमै उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरे । उनले नेपालले जलवायु परिवर्तनसम्बन्धी शिक्षालाई विशेष जोड दिनुपर्ने बताए । नेपालले अब सूचना प्रविधि र एआई सम्बन्धी शिक्षा दिन विश्वमा प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाई छ ।
त्रिभूवन विश्वविद्यालय पूर्वउपकुलपति डा. तीर्थ खनिँयाले अन्तर्राष्ट्रिय विश्वविद्यालय बन्न विदेशी विद्यार्थीको संख्या कति छन् भन्ने कुराले निर्धारण नगर्ने बताए । उनले सिकाइको आदानप्रदान नै विश्वविद्यालयको सबैभन्दा ठूलो उपलब्धि भएको बताए । उनले शिक्षा मन्त्रालयलाई नेपालको विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा कुन र्याकिङ्मा छन् भन्ने जानकारी नै रहेको बताए ।
उनले विश्वविद्यालय युनिभर्सल हुने र विश्वविद्यालयले मानवीय अवधारणाको उत्कृष्ट सिर्जना गर्ने बताए । उनले नेपालको शिक्षामन्त्रालयलाई यी दुवै कुरा बुझाउन नसकेको गुनासो गरे ।
उनले मन्त्रालय नै नेपालको शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नलागेसम्म केही नहुने उल्लेख गरे ।








