जनयुद्धको भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैनः सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले कास्कीमा दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्रै विवाद चुलिएको छ । उनको भनाइप्रति एमालेकै नेताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउन थालेका छन् ।
पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक लाइन हुन नसक्ने स्पष्ट पारेका छन् । उनले एमाले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तमा अडिग रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता नै राजनीतिमा सबैभन्दा ठूलो शक्ति भएको बताएका छन् ।
‘नेकपा (एमाले) को आफ्नै गौरवशाली इतिहास, आफ्नै संघर्षको जग र आफ्नै मौलिक सिद्धान्त छ । हामीले स्पष्ट हुनुपर्छ– माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैन,’ पाण्डेले भने ।
उनले विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूको आ–आफ्नो अनुभव र बुझाइ हुन सक्ने स्वीकार गर्दै पार्टीको झण्डामुनि आएपछि अभिव्यक्ति र व्यवहार पार्टीको आधिकारिक दस्तावेजसँग मेल खानुपर्नेमा जोड दिएका छन् ।
‘सार्वजनिक मञ्च वा संसदमा व्यक्त व्यक्तिगत विचारलाई पार्टी लाइनका रूपमा प्रस्तुत गर्दा कार्यकर्तामा भ्रम र जनतामा अविश्वास पैदा हुन्छ,’ उनले भने । साथै, यस्ता उग्र र अतिवादी दृष्टिकोणले पार्टीलाई अगाडि बढाउनुको सट्टा पछाडि धकेल्ने खतरा रहेको उनको भनाइ छ ।
पाण्डेले वर्तमान आवश्यकता विगतका द्वन्द्वकालीन मार्गको गौरवगान होइन, बरु शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियाबाट मुलुकको आर्थिक रूपान्तरणमा केन्द्रित हुनु रहेको बताए । यसअघि कास्की जिल्ला भेलामा बोल्दै कार्यवाहक अध्यक्ष थापाले पार्टीका ‘दुश्मन’ विरुद्ध वडास्तरबाटै घेरा हाल्दै आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।








