‘निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन बन्देज गर्ने सरकारको निर्णय उदार अर्थतन्त्रको नीति विपरित’

काठमाडौँ । नेपाली काँग्रेसले सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई दिन नपाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद नरेन्द्रकुमार केरुङले विरोध जनाएका हुन् । उनले निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय उदार अर्थतन्त्रको नीतिविपरित रहेको टिप्पणी गरे ।
उनले निजी क्षेत्रका सञ्चारमाध्यमको गाँस खोस्न नपाइने भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए । ‘नयाँ सरकार आउने बित्तिकै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको सरकारी विज्ञापन रोक्ने निर्णय गर्यो । सरकारको यो कदम उदार अर्थतन्त्रको नीति विपरीत छ । म जोड दिएर मा गर्छु सरकार निजी क्षेत्रका सञ्चारमाध्यमको गाँस खोस्न पाइँदैन’ उनले भने ।
सरकारले सबै प्रकारका विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन तथा प्रसारण गर्न तीनै तहका सरकारी निकायलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बुधवार सचिवस्तरीय निर्णय गर्दै संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई यस्तो परिपत्र गरेको थियो ।








