सरकारले साइबर अपराधमा संलग्नहरूलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ: पद्मा अर्याल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले साइबर अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
मुलुकमा साइबर अपराधका घटना बढिरहेका बेला उनले सो माग गरेकी हुन् ।
साइबर अपराधको घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई तत्काल सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने सचिव अर्यालको भनाई थियो । मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो घटनामा संलग्नमाथि कारबाही गर्न दबाब दिँदै आफूहरूले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुपरेको पनि स्पष्ट पारे ।
सचिव अर्यालले भने ‘जुन खालको साइबर अपराध भइरहेको छ । खास यो दण्डहीनताको स्थिति छ आज साइबर अपराधमा जुन दण्डहीनताको जुन स्थिति छ । यसको अन्त्य कसरी गर्न सकिन्छ रु र यसलाई कसरी दण्डनीय बनाउन सकिन्छ ? पीडितलाई राहत कसरी दिने, पीडकलाई सजाय कसरी गर्ने ? हामीले यिनै विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा छलफल गर्यौँ । अहिलेको तत्कालको घटनाको निम्ति तथ्य, सत्यमा आधारित भएर छानबिन गरेर शिघ्रातिशिघ्र कारबाही गरिदिनुहोस् । कारबाही गर्दाखेरि जुन पीडकहरू छन् । उनीहरू हच्किने स्थिति हुन्छ । अहिलेसम्म कारबाही नहुँदा केही पनि हुँदैन, जे बोलेपनि हुन्छ, जे गरे पनि हुन्छ भनेर जे पनि गर्नेकुरा भयो । त्यसले यसलाई कारबाहीको दायरामा ल्याउनसकियो भने मात्रै नियन्त्रण गर्न सकिन्छ ।’
सचिव अर्यालले साइबर अपराधमा संलग्नहरू कारबाहीको दायरामा ल्याउन सकिने मात्रै त्यस्ता खालको अपराध नियन्त्रण गर्न सकिने भएकाले सरकारले सो काममा विशेष ध्यान दिनुपर्ने पनि बताए ।








