होर्मुज स्ट्रेट खुलाउन ट्रम्पको अल्टिमेटम, अमेरिका–इरान तनाव झन् चुलियो

इरानले भने अमेरिकी चेतावनीलाई सिधै अस्वीकार गर्दै त्यसलाई “निरुपाय, भयग्रस्त र मूर्खतापूर्ण” प्रतिक्रिया दिएको छ

काठमाडौँ। अमेरिका र इरानबिच तनाव थप चुलिँदै गएको छ। डोनाल्ड ट्रम्पले मङ्गलवारसम्म होर्मुज स्ट्रेट सबै जहाजका लागि पूर्ण रूपमा खुला नगरिए इरानका विद्युत् केन्द्र र पुलहरू ध्वस्त पार्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत कडा शब्दमा व्यक्त गरिएको उक्त चेतावनीमा उनले पहिले प्रयोग गरेको “नर्क बनाउने” अभिव्यक्ति पनि दोहोर्‍याएका छन्। तर समानान्तर रूपमा अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा तेहरानसँग सम्झौताको “राम्रो सम्भावना” रहेको सङ्केतसमेत दिएका छन्।

इरानले भने अमेरिकी चेतावनीलाई सिधै अस्वीकार गर्दै त्यसलाई “निरुपाय, भयग्रस्त र मूर्खतापूर्ण” प्रतिक्रिया दिएको छ। अमेरिकी लडाकु विमान खसालिएको घटनापछि हराएका चालक दलका एक सदस्यको उद्धार सफल भएको घोषणासँगै ट्रम्पको यो नयाँ चेतावनी आएको हो। उक्त घटनामा एफ–१५ लडाकु विमानका पाइलटलाई भने दुर्घटना लगत्तै उद्धार गरिएको थियो भने अर्को सदस्यको खोजीका लागि अमेरिका र इरान दुवैले दक्षिण पश्चिम इरानको पहाडी क्षेत्रमा तीव्र प्रयास गरेका थिए।

एक महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्वका क्रममा इरानले अमेरिका र इजरेलका हवाई आक्रमणको जवाफ स्वरूप खाडी क्षेत्रका ती देशका सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेको छ। यसैबिच इरानले होर्मुज स्ट्रेटमा जहाज आवतजावतमा उल्लेख्य अवरोध सिर्जना गरेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने यो महत्त्वपूर्ण जलमार्ग प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको छ र मुद्रास्फीति बढ्ने चिन्ता समेत गहिरिएको छ।

ट्रम्पले स्ट्रेट खोल्न दिएको समय सीमा पटक–पटक सार्दै आएका छन्। सुरुमा उनले मार्च २१ मा ४८ घण्टाभित्र मार्ग खुला नगरिए आक्रमण गर्ने चेतावनी दिएका थिए। त्यसपछि वार्ता सकारात्मक दिशामा अघि बढेको भन्दै केही दिन आक्रमण नगर्ने घोषणा गरेका थिए। यद्यपि इरानले अमेरिकी प्रशासनसँग कुनै औपचारिक सम्पर्क नरहेको दाबी गर्दै आएको छ। पछिल्लो पटक थपिएको समय सीमा अप्रिल ६ सम्म पुर्‍याइएको थियो, जसपछि पुनः ४८ घण्टे अल्टिमेटम सुरु भएको हो।

इरानी पक्षले भने युद्धबाट भएको क्षति पूर्तिका लागि जहाजहरूबाट उठाइने शुल्कको व्यवस्था गरिएपछि मात्र होर्मुज स्ट्रेट पुनः सञ्चालनमा ल्याइने सङ्केत दिएको छ। इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी चेतावनीलाई “असन्तुलित र मूर्खतापूर्ण” भन्दै कडा प्रतिक्रिया दिएको छ।

यसैबिच इजरेलले इरानका पेट्रोकेमिकल संरचनासहितका सार्वजनिक पूर्वाधारहरूमा आक्रमण तीव्र बनाएको विवरण सार्वजनिक भएका छन्। दक्षिण पश्चिम इरानस्थित कासिम सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमणको असर परेको जनाइएको छ। थप ऊर्जा पूर्वाधारमा आक्रमण गर्न अमेरिकी स्वीकृतिको प्रतीक्षा भइरहेको बताइएको छ।

यता इरानले पनि प्रतिआक्रमण जारी राखेको छ। हाइफा सहरमा आइतबार प्रहार गरिएको बलिस्टिक क्षेप्यास्त्रबाट एक आवासीय भवनमा क्षति पुगेको छ भने चार जना घाइते भएका छन्। साथै आबुधाबी, कुवेत र बहराइनजस्ता खाडी राष्ट्रहरूमा ऊर्जा केन्द्रहरू लक्षित हमलाका खबरहरू समेत आएका छन्।

दुवै पक्षबाट आक्रमण र चेतावनी जारी रहँदा क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ भने विश्व अर्थतन्त्रमा समेत यसको प्रभाव गहिरिँदै जाने सङ्केत देखिएको छ।

“बीबीसीको सहयोगमा तयार पारिएको सामाग्री”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =