प्रधानमन्त्री कपमा आर्मी र सुदूरपश्चिमको चौथो जित

काठमाडौं । बसिर अहमदको अलराउण्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ ।
जनकपुरमा बिहीवार भएको लिगको आफ्नो पाँचौं खेलमा आर्मीले मधेश प्रदेशमाथि ६ विकेटको जित निकाल्दा बसिरले अलराउण्ड प्रदर्शन गरे । बसिरले ४१ रनको अविजित र तीन विकेट लिए । पाँचौं खेलमा आर्मीको चौथो जित हो ।
रामजानकी बहुउद्देश्यीय क्रिकेट मैदानमा मधेशले एक सय ८५ रनको लक्ष्य दियो । जवाफमा आर्मीले २९.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । ओपनरद्वय तृतराज दास र विनोद भण्डारीले ६७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए ।
तृतराजले ६९ र कप्तान विनोदले ३२ रनको योगदान दिए । तृतराजले ७२ बलमा सात चौका र तीन छक्का प्रहार गरे । २९ बल खेलेका विनोदको इनिङमा ६ चौका रह्यो ।
कुशल मल्ल २४ रनमा आउट । तर, बसिरले इनिङ समाल्दै जित दिलाए । बसिरले ३९ बलमा तीन चौका र एक छक्का हिर्काए । चौथो विकेटका लागि तृतराज र बसिरबीच ६५ रनको साझेदारी बन्यो । यससँगै आर्मीले ११२ बलअगावै जित सुरक्षित गरेको हो ।
मधेशको बलिङमा आठ बलर प्रयोग भयो । मोहम्मद आदिल आलमले दुई तथा पवन सर्राफ र विशाल सुस्लिङले एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश ४८.३ ओभरमा १८४ रनको सामान्य योगफलमा नै अलआउट भएको थियो । ओपनरद्वय मायन यादव ५ र नीरज यादव ९ रनमा आउट भएपछि मधेशको सुरुआत राम्रो हुन सकेन ।
कप्तान अनिल साह र पवन सर्राफले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे । कप्तान अनिल ४२ र पवन २२ रनमा आउट भए । अनिलले ६० बलमा समान दुई चौका र छक्का प्रहार गरे । मध्य क्रमका ब्याटर विशाल सुस्लिङले ५१ रनको अर्धशतकीय इनिङ बनाए । ७३ बलको सामना गर्दै उनले तीन चौका र दुई छक्का प्रहार गरे ।
तल्लो क्रममा विशाल पटेल १६ रन जोडे । आर्मीको बलिङमा बसिरले तीन र शाहव आलम र नरेन साउदले समान दुई विकेट लिए । आकाश चन्द र कुशल मल्लले समान एक विकेट आफ्नो नाममा गरे । जारी प्रतियोगितामा एक मात्र अपराजित आर्मी ९ अंकसहित शीर्ष स्थानमा छ ।
शेरको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको जित
कप्तान शेर मल्लको पाँच विकेट प्रेरणामा सुदूरपश्चिम प्रदेशले चौथो जित निकाल्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
वीरगञ्जमा बिहिबार भएको खेलमा कप्तान शेरको उत्कृष्ट बलिङमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि दुई विकेटको जित आत्मसात् गरेको हो । कप्तान शेरले पाँच विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । उनी म्यान अफ दी म्याच पनि भए । नारायणी क्रिकेट मैदानमा गण्डकीले १९१ रनको सामान्य लक्ष्य दिएको थियो ।
जवाफमा सुदूरपश्चिमले ३९.२ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । ६.४ ओभरमा सुदूरपश्चिम २४÷३ को नाजुक अवस्थामा पुग्यो । यससँगै सुदूरपश्चिमले खराब शुरुवात ग¥यो । तर तेस्रो विकेटका लागि ओपनर अभिशेक पाल र विकेटकिपर दीपक बोहोराले ६८ रनको साझेदारी गर्दै इनिङ समाले । अभिषेकले ६६ रनको अर्धशतकीय इनिङ खेले ।
मध्य क्रमका ब्याटर दीपक ३५ रनको योगदान दिए । ९३ बल खेलेका अभिशेकले ६ चौका र दुई छक्का प्रहार गरे । दीपकको इनिङमा चार चौका र एक छक्का रह्यो । थप १८ रन जोड्दा सुदूरपश्चिमले थप तीन विकेट गुमायो । यद्यपि, तल्लो क्रमका ब्याटर नारायण जोशी ४५ रनमा अविजित रहँदै जित दिलाए । मिलन बोहोरा १५ रनमा आउट भए ।
अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नारायणले दुई चौका र तीन छक्का प्रहार गरे । गण्डकीको बलिङमा कप्तान विपिन खत्री पाँच विकेट लिए पनि सुदूरपश्चिमको जित रोक्न सकेनन् । उनले कुल १० ओभरमा एक मेडन राख्दै ३६ रन मात्र दिए । कृष्ण पौडेल, सुवास भण्डारी तथा विश्व कार्कीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ४९ औं ओभरमा १९० रनमा नै अलआउट भएको थियो । ओपनर अर्जुन कुमालले ४४ रन बनाए । यो नै गण्डकीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस प्रतियोगितामा उनी लयमा देखिएका छन् । पाँच इनिङमा उनी सर्वाधिक (२४४ रन) रनकर्ता पनि हुन् ।
अर्जुनले ६८ बलमा सात चौका प्रहार गरे । कप्तान विपिन खत्री ३०, सुवास भण्डारी २४, दीपक डुम्रे २२ र कृष्ण १५ रनमा आउट भए ।
सुदूरपश्चिमको बलिङमा कप्तान शेरले १० ओभरमा ४२ रन दिए । हेमन्त धामी र अशोक धामीले समान दुई तथा मिलन बोहोराले एक विकेट लिए ।








