कोइराला नेपाली राजनीतिक वृत्तका बहुआयामिक व्यक्ति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कमलप्रसाद कोइराला नेपाली राजनीति वृत्तका बहुआयामिक व्यक्ति रहेको बताएकी छन् ।
कमलप्रसाद कोइराला स्मृतिग्रन्थ प्रकाशन समितिले आज आयोजना गरेको ‘कमलप्रसाद कोइराला स्मृतिग्रन्थ’ लोकार्पण समारोहमा पूर्वराष्ट्रपति भण्डारीले उनका सबै परिवारका अग्रज फरक राजनीतिक धारको अग्रस्थानमा रहेपनि कोइरालाले आफ्नै वैचारिक मार्ग खोजेको बताइन् ।
‘कम्युनिष्ट विचारधारालाई आत्मसात गर्दै उहाँले जीवनपर्यन्त राष्ट्रियता सार्वभौमिकता, सामाजिक न्याय र समानताको पक्षमा दृढदापूर्वक कलम चलाउनुभयो र सङ्घर्षको कठिन बाटो अङ्गाल्नुभयो’, उनले भनिन्, ‘कमल कोइरालाको जीवनशैली अन्यन्त सरल, सादगीपूर्ण र मिलनसार थियो । पद प्रतिष्ठा र विलासिताभन्दा टाढा रही आफ्नो जीवन लेखक र राजनीतिक अभियानका माध्यमबाट जनता र राष्ट्रको सेवामा समर्पित रहनुभयो ।’
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमल कोइराला आफ्नो परिवारको एक्लो कम्युनिष्ट रहेको चर्चा गर्दै पछिल्लो पटक उनी कम्युनिष्ट आन्दोलनप्रति नरम हुँदै गएको बताए ।
नेपाली कम्युनिष्ट पार्टीका नेता गिरिराजमणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको जनमत खस्केको भन्दै त्यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
वरिष्ठ पत्रकार किशोर श्रेष्ठले कमल कोइराला सरल, सहज र सादगी व्यक्तिका रूपमा परिचित रहेको बताए । कोइरालाको ८७ वर्षको उमेरमा २०८१ चैत १७ गते उपचारका क्रममा निधन भएको थियो ।








