नयाँ सरकारप्रति जनताको ठुलो अपेक्षा छ: नारायणप्रसाद दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले २० औँ अधिवेशनको शुभारम्भ गर्दै नयाँ सरकारप्रति जनताको ठुलो अपेक्षा रहेको र त्यसलाई सम्बोधन गर्नु संसदको साझा दायित्व भएको बताएका छन् ।
२०७४ साल फागुन २१ गतेदेखि सुरु भएको राष्ट्रिय सभाले ८ वर्षको अवधिमा १९ वटा अधिवेशन सम्पन्न गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले यस अवधिमा सभाले एक परिपक्व, सुझबुझयुक्त र स्थायी सदनको परिचय दिन सफल भएकोमा गर्व व्यक्त गरे ।
अध्यक्ष दाहालले लोकतान्त्रिक व्यवस्थामा जनताको जनादेश सर्वोपरि हुने उल्लेख गर्दै सरकारलाई नीति, कानुन र निगरानीका माध्यमबाट उचित दिशानिर्देश गर्नु संसदको दायित्व भएको बताए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको सहकार्य लोकतान्त्रिक संसदीय अभ्यासको आधार भएकोमा जोड दिए । बानेश्वरस्थित सङ्घीय संसद भवनमा भएको क्षति र सिंहदरबारस्थित नयाँ भवन सम्पन्न नभइसकेको कारण चुनौतीपूर्ण परिस्थितिमा सभा सञ्चालन गर्नुपरेको बताए ।
अध्यक्ष दाहालले भने ‘जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक अन्योलका बीच पनि राष्ट्रिय सभाले अभिभावकीय भूमिका निर्वाह गर्न सकेकोमा म गौरवान्वित छु । १९ औँ अधिवेशन छोटो भए पनि यसको महत्त्व र गरिमा निकै माथि रहेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकल बहुमत प्राप्त भएको छ र प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारप्रति जनताले सुशासन, पारदर्शिता र विकासको ठुलो अपेक्षा राखेका छन् ।’
अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै उनीहरूको सक्रिय र रचनात्मक सहभागिताले राष्ट्रिय सभाको गरिमा अझ बढ्ने बताए । उनले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन सबै सदस्यहरूलाई अपिल गरे ।








