लखनऊलाई ६ विकेटले हराउँदै दिल्लीको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा लखनउ सुपर जायन्ट्सलाई हराउँदै दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ । बुधबार लखनऊको इकाना स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई दिल्लीले ६ विकेटले पराजित गरेको हो । १४२ रनको लक्ष्य दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीका लागि समिर रिज्वीले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ४७ बलको सामना गर्दा ५ चौका र ४ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि रिज्वीले ट्रिटन स्टब्ससँग मिलेर ११९ रनको साझेदारी गरे । स्टब्स ३२ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे ।
दिल्लीको लागि सुरुवात भने राम्रो हुन सकेको थिएन । दिल्लीले २६ रनमा ४ महत्वपुर्ण विकेट गुमाइसकेको थियो । पथुम निशंका १ रनमा आउट हुँदा कप्तान अक्षर पटेल र केएल राहुलले रनको खातासम्म खोल्न सकेनन् ।
लखनउका लागि प्रिन्स यादवले २ तथा मोहम्मद सामी र मोहसिन खानको नाममा समान १ विकेट रह्यो । त्यसअघि दिल्लीले टस जितेर पहिले बलिङ रोजेपछि लखनउले पहिले ब्याटिङ गरेकोमा १८.४ ओभरमा सबै विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो ।
लखनउका लागि अब्दुल समादले सर्वाधिक ३६ रनको इनिङ खेल्दै आउट भए । मिचेल मार्श २८ बलमा ३५ तथा मुकुल चौधरी १४ रनमा आउट हुँदा शाहबाज अहमद १५ रनमा अविजित रहे ।
दिल्लीका लागि टि नटराजन तथा लुन्गी एन्गेडीले समान ३ तथा कुलदिप यादव २ विकेट लिए । कप्तान अक्षर पटेलले १ विकेट लिए ।









