प्रधानमन्त्री कपमा सन्दीप र सन्तोषको उत्कृष्ट प्रदर्शन

काठमाडौं । सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा वागमती प्रदेश र सुपर ओभरबाट लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
जनकपुरमा बुधवार भएको खेलमा सन्दीपको सात विकेट प्रेरणामा वागमतीले कर्णाली प्रदेशमाथि ६० रनको जित निकालेको हो । वीरगञ्जमा भएको अर्को खेलमा लुम्बिनी सुपर ओभरमार्पmत विभागीय टोली एपिएफलाई हराउन सफल भयो । लुम्बिनीको जितमा सन्तोष यादवले उत्कृष्ट प्रदर्शन गरे ।
समान पाँच खेलबाट एपिएफ र लुम्बिनी दुवैको दोस्रो जित हो । रामजानकी क्रिकेट मैदानमा वागमतीले १८१ रनको सामान्य लक्ष्य दिएको थियो । वागमतीका कप्तान सन्दीपले उत्कृष्ट बलिङ गर्दै सात विकेट लिए । यससँगै कर्णाली २५.१ ओभरमा १२० रनमा अलआउट भयो । इनिङको पहिलो बलमै ओपनर रवीन्द्र शाही गुमाएको कर्णाली शुरुदेखि नै दबाबमा प¥यो । निश्चल रावल ३१ रन बनाएर आउट भए । यो नै कर्णालीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।
उनले ४२ बलमा पाँच चौका प्रहार गरे । आठौं नम्बरमा आएका दिनेश अधिकारी १५ बलमा २२ रन जोडे । ओपनर सुनिल धमला १४, विपिन शाही १५ र कप्तान दिवान पुन १० रनमा आउट भए । कुनै पनि ब्याटरले ठूलो इनिङ जोड्न नसक्दा कर्णालीले तेस्रो हार बेहो¥यो । बागमतीका कप्तान तथा लेग स्पिनर सन्दीपको बलिङ सामू कर्णालीका ब्याटर टिक्न नै सकेनन् ।
कुल ९.१ ओभरमा एक मेडनसहित उनले ४० रन खर्चिएर सात विकेट लिए । उनी म्यान अफ दी म्याच पनि भए । रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वागमती ३८.४ ओभरमा एक सय ८० रनको सामान्य योगफलमा नै समेटियो ।
मध्य क्रमका ब्याटर विवेक रानामगरले ५६ रनको अर्धशतकीय इनिङ खेले । उनले ८० बल खेल्दै दुई चौका र चार छक्का प्रहार गरे । ईशान पाण्डे ३३ बलमा २२ रन जोड्दा ओपनरद्वय शुभ कंसकार २३ बलमा २२ रन र शुभम तिवारी १८ रनमा आउट भए । कर्णालीको बलिङमा कप्तान दिवानले तीन तथा प्रकाश जैशी, दीपेन्द्र रावत र निश्चल रावलले समान दुई विकेट लिए । बागमती चार अंक र पराजित कर्णालीको तीन अंक छ ।
नारायणी क्रिकेट मैदानमा लुम्बिनी र एपिएफबीच भएको खेल निकै रोमाञ्चक बन्यो । सन्तोष यादवको उत्कृष्ट बलिङमा लुम्बिनीले पहिलोपल्ट एपिएफमाथि जित निकाल्यो । एपिएफले एक सय १२५ रनको लक्ष्य दिएको थियो । तर जबाफी ब्याटिङ गरेको लुम्बिनी ३३.६ ओभरमा १२४ रनमा नै अलआउट भयो ।
यससँगै खेल सुपर ओभरमा पुग्यो र जहाँ लुम्बिनीले बाजी मा¥यो । पावर प्लेमा सन्तोषले उत्कष्ट अलराउन्ड प्रदर्शन गरे । उनी बलिङ र ब्याटिङमा चम्किएपछि एपिएफ स्तब्ध भएको हो । सुपर ओभरमा लुम्बिनीले ६ बलमा १ विकेट गुमाएर १४ रनको योगफल तयार गरेको थियो । आकाश त्रिपाठी रनको खाता नखोल्दै आउट भए ।
कप्तान देव खनाल १ र सन्तोष यादव ८ रनमा अविजित रहे । एपिएफको बलिङमा अभिशेक गौतमले १० रन दिए । १५ रनको लक्ष्य पछ्याएको एपिएफले ६ बलमा १ विकेट गुमाएर ६ रन मात्र बनाउन सक्यो । लोकेश बम खाता पहिलो बलमै आउट भए । कप्तान रोहितले ५ र सन्दीप जोराले १ रन बनाए । लुम्बिनीको बलिङमा सन्तोषले ६ रन मात्र दिए ।
लुम्बिनीले पहिलोपल्ट विभागीय टोलीमाथि जित पनि निकाल्यो । सामान्य लक्ष्य पछ्याएको लुम्बिनीको सुरुआत राम्रो हुन सकेन । ओपनर रन्जीत खड्का पाँच रनमा नै आउट भए । तर, ओपनर तथा कप्तान देव खनालले ४५ रन बनाउँदै इनिङ समाल्ने प्रयास गरे । उनले ६४ बलको सामना गर्दै पाँच चौका प्रहार गरे ।
आकाश त्रिपाटीले ३५ बलमा ३२ रन र दर्श सोनारले १६ रन जोडे । त्यसबाहेक अन्य ब्याटर दोहोरो अंकमा रन बटुल्न असफल भए । एपिएफको उत्कृष्ट बलिङमा लुम्बिनी सामान्य लक्ष्य पूरा गर्न असफल भयो । कप्तान रोहितले तीन तथा अभिशेष गौतम, युवराज खत्री र भुवन कार्कीले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ३९.४ ओभरमा एक सय २४ रन मात्र बनाएको थियो । नवौं नम्बरका ब्याटर अभिषेक गौतमले २८ रन बनाए । ओपनर दीपक बोहोरा २०, आसिफ शेख र लोकेश बम समान १५ तथा कमलसिंह ऐरी ११ रनमा आउट भए । लुम्बिनीको बलिङमा अजय चौहानले चार, सन्तोषले तीन, निर्मल गुरुङले दुई तथा सन्देश थापाले एक विकेट लिँदै एपिएफको इनिङ धराशायी बनाएका हुन् । लुम्बिनीको पाँच खेलबाट पाँच अंक र एपिएफको समान खेलबाट तीन अंक छ ।








