महिला र उत्पीडित समुदायको अधिकार हामीहरूकै बलिदानका कारण स्थापित भएको हो: दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको त्याग र बलिदानी कै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गरेका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याए पनि आफूहरूको मुद्दाले जितेको बताएका हुन् ।

जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उनको दाबी छ । उनले बालेन्द्र साह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने समेत बताए । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्रीहरुमध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको बताए ।

उनले भने ‘जुन पार्टीले धेरै सिट वा थोरै सिट ल्याए पनि हामीलाई आन्दोलनको एउटा प्रमुख नेताको हैसियतले हिजो जनयुद्धको, जलआन्दोलनको, शान्ति सम्झौताको, संविधान सभाको, गणतन्त्र निर्माणको अनि देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको अधिकार र पहिचान स्थापित गर्ने दृष्टिकोणले मैले सोच्दा जो आएपनि जताबाट महिलाहरू निर्वाचित भएपनि मलाई गर्व लाग्छ हाम्रै बलिदान, त्याग र तपस्याको कारणले सम्भव भयो । त्यसकारण यसको रक्षा र परिमार्जन गर्नको निम्ति अहिले विशेष स्थिति पनि बन्यो । पूर्वप्रधानमन्त्रीहरुमध्ये म मात्रै अहिले वैधानिक रूपले प्रतिनिधि सभामा उपस्थित छु । यो आफैँमा एउटा चुनौती पनि हो अवसर पनि हो भन्ने मलाई लागेको छ । सरकारले राम्रो गरोस् । धेरै सिट ल्याएका छन् उनीहरूले राम्रो गरुन् । हाम्रो शुभकामना छ । जहाँ राम्रो हुन्छ त्यहाँ हामे सहयोग रहन्छ । कमी देखेपछि हाम्रो आलोचना हुन्छ । हामी रचनात्मक र सिर्जनात्मक ढंगले अगाडि बढ्न चाहन्छौँ ।’

उनले मुलुकमा सुशासन र व्यवस्थाको रक्षाको लागि संसदमा रचनात्मक भूमिका खेल्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =