झुट्टा अनुभव प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा राजेश पोख्रेलविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा कागजात पेश गरी सार्वजनिक पद हासिल गरेको आरोपमा राजेश पोख्रेलविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव पदका लागि कानुन विषयमा स्नातक योग्यता आवश्यक रहे पनि पोख्रेलले एमबीएस योग्यता प्रस्तुत गर्दै नियुक्ति लिएका थिए ।

अनुसन्धानका क्रममा उनले गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडमा वरिष्ठ अधिकृतका रूपमा कार्य गरेको भनी पेश गरेको अनुभव प्रमाणपत्र नक्कली रहेको खुलेको आयोगले जनाएको छ । सो कम्पनीबाट प्राप्त पत्र अनुसार पोख्रेल उक्त अवधिमा त्यहाँ कार्यरत नै नरहेको र उक्त प्रमाणपत्रको कुनै आधिकारिक अभिलेख नभएको पुष्टि भएको छ ।

आयोगले पोख्रेलले सोही नक्कली प्रमाणपत्रका आधारमा २०७३ फागुन १० गते राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडमा सातौँ तहको कम्पनी सचिव पदमा सेवा करारमा नियुक्ति लिएको र पछि सञ्चालक समितिबाट अनुमोदनसमेत भएको जनाएको छ ।

उनी २०७३ देखि २०८२ सम्म सो पदमा कार्यरत रहँदा १ करोड ७ लाख १ हजार ५८४ रुपैयाँ ७७ पैसा बराबरको तलब तथा अन्य सुविधा लिएको तथ्य पनि खुलेको आयोगले उल्लेख गरेको छ ।

यसरी झुट्टा विवरण पेश गरी सार्वजनिक निकायको जिम्मेवार पद हासिल गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर हुने भन्दै आयोगले सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवानाको मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =