शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छ: प्रधानमन्त्री साह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मङ्गलवार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग सामूहिक भेट गरी उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
त्यस अवसरमा उनले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री साहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्नेगरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताए ।
आफूहरूले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयहरूको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताए ।
उनले भने ‘प्रधानमन्त्रीको तर्फबाट खासगरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय जो छ । त्यसलाई अगाडि बढाउने भन्ने पनि आएको छ । र गोकुलेश्वर एयरपोर्टलाई कसरी छिटो सञ्चालनमा ल्याउन सकिन्छ ? त्यो कुरा पनि आएको छ । यी दुई वटा कुराहरू महत्त्वपूर्ण रूपमा आएका छन् ।’
बैठकमा प्रधानमन्त्री साहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिएका थिए । धनघढी–दीपायल द्रुतमार्ग, अति जरुरी सडक, खानेपानी लगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री साहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताए ।
उनले भने ‘प्रधानमन्त्रीले यो आर्थिक वर्षमा हाम्रो बजेटको आकारलाई हेरेर तत्काल समाधान गर्नैपर्ने अत्यन्तै जरुरी योजनाहरूको बारेमा कुरा राख्नु होला भनेर भनेर सुरुमै जानकारी भए बमोजिम हामीले अत्यन्तै जरुरी, जो गर्नैपर्ने योजनाहरू छन् । त्यसको बारेमा मात्रै हामीहरूले कुरा राखेका थियौ । मैले मेरो क्षेत्रमा जेन–जी आन्दोलन पश्चात् क्याबिनेटबाट गरिएको निर्णयहरू जो रोकिएर बसेका छन् । त्यसलाई अघि बढाउन भनेका छौँ । धनगढी–दिपायल फाष्ट ट्र्याकलाई अघि बढाउने कुरा गरेका छौ । जरुरी सडक, खानेपानी, नेटवर्कलगायतका विषयमा पनि हामीले राखेका छौ । जनताको समस्याको विषयहरू समग्रतामा हामीले राखेका छौँ ।’
प्रधानमन्त्री साहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदहरूसँगका भेटवार्तालाई निरन्तरता दिइरहेका हुन् । भेटमा उनले अति जरुरी जनचासाको योजनाहरूलाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताउने गरेको भेटमा सहभागी सांसदहरूले बताएका छन् ।








