लिची बगान घुस प्रकरणः पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । कास्कीको चर्चित लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त मुद्दा सुनुवाइका लागि राखिएको हो ।

विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी उक्त आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका हुन् । गुप्तासँगै पूर्वमन्त्री श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीविरुद्धको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ हुँदैछ ।

विशेष अदालतले श्रेष्ठ र अधिकारीलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको हो ।

यसअघि सर्वोच्च अदालतले गुप्ताको निवेदनमाथि कैफियत प्रतिवेदन माग्ने आदेश दिएको थियो । पोखरास्थित लिची बगान भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश गरेको थियो ।

अभियोग अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने प्रलोभन देखाउँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

यस्तै, अख्तियारले गुप्ता र श्रेष्ठले मिलेमतोमा पदको दुरुपयोग गर्दै २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ । यद्यपि गुप्ताले अदालतमा दिएको बयानमा आफूले कुनै घुस नलिएको र आरोप झुटो भएको दाबी गरेका छन् । अदालतले भने उपलब्ध प्रारम्भिक प्रमाणका आधारमा उनलाई तत्काल निर्दोष मान्न नसकिने ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =