अञ्जन श्रेष्ठलाई अध्यक्ष ढकालको चेतावनी- ‘गुटबन्दी भए म पनि मौन बस्दिनँ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मीले उचाइ लिइरहेका बेला वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको एउटा सार्वजनिक अभिव्यक्तिले निजी क्षेत्रको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।

आगामी हप्ता हुने निर्वाचनमा दुई स्पष्ट समूहहरू प्यानलसहित भिड्ने तयारीमा रहेका बेला अध्यक्ष ढकालले भावी अध्यक्ष (हालका वरिष्ठ उपाध्यक्ष) अञ्जन श्रेष्ठलाई ‘गुटबन्दी’ नगर्न र ‘तटस्थ’ रहन चेतावनी दिएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि ‘कन्फर्म’ अध्यक्ष हुन् । तर श्रेष्ठले पर्दापछाडि आफ्नो प्यानल बनाएको र चुनावी अभियानमा सक्रिय भएको आरोप लगाउँदै अध्यक्ष ढकालले यस्तो कार्य विधानको मर्म विपरीत भएको टिप्पणी गरे ।

अध्यक्ष ढकालले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणाली किन ल्याइएको थियो भन्ने कुराको स्मरण गराउँदै नेतृत्वको इमानदारितामाथि प्रश्न उठाए । नेतृत्व हस्तान्तरण सहज होस् र नेतृत्वमा पुग्ने व्यक्ति विवादरहित होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको भए पनि त्यसको दुरुपयोग भइरहेको उनको तर्क छ ।

उनले भने, ‘यो वरिष्ठ उपाध्यक्षको सिस्टम एउटा नेतृत्वलाई तयार गर्नको लागि, अनि अर्को त्यो जुन नेतृत्व वरिष्ठ स्वतः अध्यक्ष हुन्छ, उ न्युट्रल होस् भन्ने हिसाबले । तर अब हामीकहाँ जुन हिसाबले न्युट्रल र तयार गर्ने हिसाबमा अब मेरो पक्ष भनेर जब वरिष्ठले नै पम्पलेट तयार गरेपछि अनि के होला भन्नुस् त ?’

ढकालकाअनुसार अञ्जन श्रेष्ठले निर्वाचनमा एउटा निश्चित समूहलाई च्यापेर पम्पलेट नै छापेर हिँडेका छन् । यसले महासंघभित्रको आन्तरिक लोकतन्त्र र आगामी नेतृत्वको निष्पक्षतामाथि ठूलो संशय पैदा गरेको छ ।

अहिलेसम्म आफूलाई सर्वसम्मतिको पक्षधर र अभिभावकीय भूमिकामा राख्दै आएका ढकालले यदि भावी अध्यक्षले गुटबन्दी नत्यागे आफू पनि चुप लागेर नबस्ने चेतावनी दिएका छन् । उनले भावी अध्यक्ष श्रेष्ठलाई एउटा पक्षको नेता नबन्न आग्रह गर्दै यदि त्यसो भएमा आफूले पनि अर्को पक्षको खुलेर समर्थन गर्ने ‘अल्टिमेटम’ दिए ।

उनले भने ‘म अझै केही दिन सर्वसम्मतकै पक्षमा हुनेछु । तर तपाईंहरू ढुक्क हुनुहोस्, यदि उहाँले मेरै प्यानल हो भनेर यदि भन्नुभयो भने तपाईंहरूको पक्षमा पनि म खुलेर लाग्छु ।’ महासंघको निर्वाचन अब केवल साधारण सदस्य वा कार्यसमिति सदस्यहरूको मात्र लडाईं नरहेर वर्तमान र भावी अध्यक्षबीचको प्रतिष्ठाको लडाईंसमेत बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =