सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप
पीडितहरु भन्छन्– ‘राष्ट्र बैंकको कारबाहीबाट बच्न हामीलाई फसाइयो’

काठमाडौं । सिद्धार्थ बैंकको मनिग्राम लुम्बिनी शाखाले किर्ते कागजातको प्रयोग गरी कालोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको तथा राष्ट्र बैंकको कारबाहीबाट बच्न आफूहरुलाई प्रयोग गरिएको भन्दै पीडितहरुले छानबिन गर्न माग गरेका छन् ।
सोमवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले यस्तो माग गरेका हुन् । पीडितमध्येका एक दिलिप ओलीले मनिग्राम लुम्बिनी शाखाले आफूले माग नगरेको कर्जा स्वीकृत गराएको, किर्ते कागजात तयार गरी कालोसूचीमा रहेको कम्पनीका नाममा करोडौं रुपैयाँ कर्जा प्रवाह गरेको तथा त्यसलाई ढाकछोप गर्न आफूलाई प्रयोग गरिएको भन्दै बैंकको शाखादेखि उच्च अधिकारीहरूमाथि छानबिन गर्न माग गरेका छन् ।
उनकाअनुसार आफूले पुष्पाञ्जली एण्ड प्राइभेट लिमिटेडमार्फत एलसी (लेटर अफ क्रेडिट) सुविधा मात्र लिन खोजेको भएपनि पछि सोही प्रक्रियालाई सर्ट टर्म लोनमा रूपान्तरण गरी ७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिएको थियो । आफूले भने ५० लाख रुपैयाँ बराबर लेटर अफ क्रेडिटको सुविधा मात्र माग गरेको उनको दाबी छ । उनले कालोसूचीमा रहेको कम्पनीका नाममा १७ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको, त्यसमध्ये एउटा कर्जामा धितो र सञ्चालकसमेत नरहेको तथा किर्ते हस्ताक्षर र नक्कली कागजातका आधारमा ३ करोड ५० लाख रुपैयाँ गैरनागरिकलाई प्रवाह गरिएको आरोप लगाए ।
उनले राष्ट्र बैंकको कारबाहीबाट जोगिन बैंकले पूर्वयोजनाअनुसार आफूलाई प्रयोग गरी पैसा असुल्ने खेल रचिएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफूजस्तै अन्य १० जना पनि एउटै प्रकृतिको कथित किर्ते कर्जा प्रकरणको पीडित रहेको दाबी गर्दै यस्तो कार्य कुनै एक शाखाबाट मात्र सम्भव नहुने बताए ।
उनले सिद्धार्थ बैंकको किर्ते ठगी प्रकरणमा बैंकको प्रधान कार्यालय, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत उच्च तहका अधिकारीहरूको समेत संलग्नता रहेको आशंका व्यक्त गर्दै निष्पक्ष छानविन गरी पीडितहरुलाई दिन माग गरे ।








