निजी क्षेत्रमा सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छः अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य रहेको बताएका छन् ।
महासंघको ६० औं साधारण सभामा हुने निर्वाचनमा वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले महासंघको आगामी नेतृत्व पनि सम्भव भएसम्म सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले आफू पनि विगतमा सर्वसम्मत रूपमा विभिन्न पदहरूमा निर्वाचित भएको स्मरण गर्दै प्रदेशहरूमा पनि सर्वसम्मत नेतृत्वको लहर शुरु भइसकेको जानकारी दिए ।
आफ्नो कार्यकालका उपलब्धिहरूका बारेमा चर्चा गर्दै ढकालले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ (निजी क्षेत्र सुरक्षा तथा प्रवद्र्धन योजना) लाई ठूलो सफलताका रूपमा लिएकाे बताए ।
उनले भने, ‘एउटा प्रदेशमा सर्वसम्मत नेतृत्वको घोषणा हुन मात्र बाँकी छ, यो सकारात्मक सन्देश सबै प्रदेश र केन्द्रमा पनि पुग्नुपर्छ । हामी निजी क्षेत्रका मान्छेहरू एक भएर सर्वसम्मत रूपमा अगाडि बढ्नुपर्छ भन्ने अहिलेको मुख्य म्यासेज हो । निजी क्षेत्र भनेको केवल नाफा कमाउने समूह मात्र होइन, यो ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने, ८०–८१ प्रतिशत जीडीपीमा योगदान पुर्याउने र मुख्य राजश्व संकलनकर्ता पनि हो । ’
अध्यक्ष ढकालले महासंघभित्रको गुटबन्दी अन्त्य गरी एकताबद्ध भएर अगाडि बढ्न सबै पदाधिकारी र सदस्यहरूलाई आग्रहसमेत गरेका छन् । उनले आगामी दिनमा पनि निजी क्षेत्रका समस्याहरूको पैरवी र व्यावसायिक गतिविधि विस्तारमा महासंघ सधैं तत्पर रहने प्रतिवद्धता व्यक्त गरे ।








