प्रतिशोध जस्तो लागेको छ भने कानुनी बाटो रोज्नुहोस्: रक्षा बम

काठमाडौँ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रतिशोध जस्तो लागे कानुनी बाटो रोज्न प्रदर्शनकारीहरूलाई आग्रह गरेकी छन् ।

उनले सोमबार साँझ सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै बडो अन्योलतापछि मुलुकमा केही हदसम्म स्थिरताको अनुभूति भएको बताएकी छन् ।

‘भदौ २३ र २४ गते जति विध्वंस देख्नुपर्ने थियो, देखिसक्यो । अब त्यो दोहोरिनु हुँदैन । अब देशलाई पनि सास फेर्ने समय दिनुहोस् । देश तपाईँहरूको राजनैतिक मुद्दा भन्दा धेरै माथिको कुरा हो ।’ उनले लेखेकी छन् ।

त्यसपछि यस प्रक्रिया प्रतिशोध जस्तो लागे कानुनी बाटो रोज्न आग्रह गरेकी छन् ।

‘कानुनी लडाइँ लड्नुहोस्। लोकतन्त्रमा सत्य प्रमाणित गर्ने ठाउँ अदालत र प्रक्रिया हो। तपाईँहरूले यो सरकारसँग असहमति राख्न पाउनुहुन्छ त्यो तपाईँहरूको अधिकार हो, र त्यो अधिकारको पक्षमा हामी पनि उभिन्छौँ। तर थप अराजकता, विध्वंस र द्वन्द्वले देशको आयु नै कमजोर बनाउँछ। हामीलाई यो समाजमा तपाईँहरूको पनि आवश्यकता छ। तपाईंहरूबिनाको समाज हामीले कल्पना गरेका छैनौँ। तर हामीलाई जिम्मेवार, उत्तरदायी र लोकतान्त्रिक चरित्र बोकेको एमाले चाहिएको हो ।’

उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाइन्छ, तर बाटो हिँडिरहेका सर्वसाधारणमाथि आक्रमण गर्ने, आम जनतालाई असर पर्ने गरी सडक अवरोध गर्ने, निर्दोषहरूको सवारी साधन जलाउने जस्ता गतिविधिले एमालेलाई बलियो नबनाउने बताएकी छन् । बरु उल्टै नैतिक आधार कमजोर बनाउँदै जाने भन्दै यस्ता गतिविधिहरू नगरिदिन उनले आग्रह गरेकी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेका भ्रातृ सङ्गठनहरूले लगातार प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =