सांसदहरूलाई पूर्णबहादुर खड्काले भने- ‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्युन भएपनि प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
सोमवार नवनिर्वाचित सांसदहरूलाई बधाई दिन आयोजित कार्यक्रममा उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसदमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
उनले संविधान संशोधनको मुद्दा उठेकोले संसदमा प्रवेश गर्नसक्ने बताए । उनले पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न आग्रह गरे । संविधान संशोधनको विषय आफूहरूले पनि उठाएको भएपनि त्यसमा प्रगति हुन नसकेको उनको भनाई छ ।
उनले संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको काँग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पारे । संख्या कम भएपनि वैचारिक बल र ऐतिहासिक जिम्मेवारी काँग्रेसको ठुलो रहेको उनको भनाई छ ।
उनले सांसदहरूलाई जनताको पक्षमा दरिलोसाथ संसदमा प्रस्तुत हुन पनि निर्देशन दिए । संसदमा चाहिने आवश्यक ज्ञान र सहयोग दिन आफूहरू तयार रहेको पनि उनको भनाई छ । उनले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका बीचमा एकता कायम राखेर अगाडी बढ्न पनि आग्रह गरे ।








