नवनिर्वाचित सांसदहरूलाई डा. शेखरको सुझाव- ‘वरिष्ठ नेता र विज्ञहरूसँग सरसल्लाह गरेर अघि बढ्नुस्’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरूसँग नियमित सरसल्लाह गर्न सुझाव दिएका छन् ।

सोमवार धुम्बाराहीमा नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले संसदमा आउने विभिन्न विषय र मुद्दाहरूमा गहिरो अध्ययन र छलफलको आवश्यकता रहेको बताएका हुन् ।

यस पटक वरिष्ठ र पुराना सांसदहरू धेरै नभएको उल्लेख गर्दै कोइरालाले उनीहरूको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे ।

नेपाली काँग्रेसले यस्ता कार्यक्रमहरू पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उहाँले नवनिर्वाचित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना समेत दिए ।

उनले भने ‘यो सबै कुरा हामी नेपाली काँग्रेसका साथीहरूले पहिले पनि हामीले गरिराख्या हो, पहिले पहिले पनि र अहिले पनि हामीले यो यस्ता कार्यक्रमहरू गरिराख्या हुन्छौँ । तपाईँहरू सित सधैँ हामीहरूको भेटघाटहरू भई रहन्छ र संसदमा के भई राखेको छ, कसो भई राखेको छ, हामी संसद् बाहिर छौँ धेरै साथीहरू यस पटक । त्यो कुरालाई पनि तपाईँहरूले ध्यान दिएर संसदमा कसरी जाने, के गर्ने धेरै पुराना साथीहरू, म भन्दा पनि धेरै पुराना साथीहरू, वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ । उहाँहरूसित, हामीहरू सित सरसल्लाह पनि गर्नुहोला ताकि धेरै इस्युजहरु आउँछ संसदमा, त्यो इस्युजलाई पनि तपाईँहरूले मध्यनजर गरिइकन एक्सपर्टहरू सित, विज्ञहरू सित तपाइँहरुलाई कुनै जरुरत पर्छ छलफल गर्नुपर्छ भने हामी तयार छौँ ।’

कार्यक्रममा काँग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =