इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने सूचना शिक्षा मन्त्रालयले वेबसाइटबाट हटायो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्सका कक्षा बन्द गर्ने निर्णयसम्बन्धी सूचना आफ्नो वेबसाइटबाट हटाएको छ ।
मन्त्रालयले आइतबार विभिन्न कक्षा तथा उच्च शिक्षाका तहका इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयसहित विज्ञप्ति सार्वजनिक गरेको थियो । तर सोही विषयमा शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको सूचना भने फरक देखिएपछि निर्णयमा विरोधाभास देखिएको भन्दै आलोचना सुरु भएको हो ।
मन्त्रालयको विज्ञप्तिमा सबै प्रकारका इन्ट्रान्स परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्न नपाइने उल्लेख थियो । तर मन्त्री पोखरेलले कक्षा १२ सम्मका इन्ट्रान्स र ब्रिज कोर्समा मात्रै रोक लगाउने निर्णय भएको भन्दै छुट्टै सूचना सार्वजनिक गरेका थिए ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार २०८३ वैशाख १ गतेदेखि यस्ता कक्षा पूर्ण रूपमा बन्द गर्ने जनाएको थियो । तर निर्णय सार्वजनिक भएको २४ घण्टा नपुग्दै उक्त सूचना वेबसाइटबाट हटाइएको छ ।
प्रवेश परीक्षा तयारी कक्षा (इन्ट्रान्स) र ब्रिज कोर्स बन्द गर्ने सरकारी निर्णयप्रति सामाजिक सञ्जाल तथा शैक्षिक क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका छन् । यद्यपि, सूचना हटाइनुको कारणबारे मन्त्रालयले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।









