हर्क साम्पाङलाई ज्यान मार्ने धम्की, सीआईबीमा उजुरी दिने तयारी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट यस्तो धम्की आएको दाबी गर्दै तस्बिर सार्वजनिक गरेका हुन् । उनले राखेको स्क्रिनसटमा ‘सुनिता खड्का’ नामको आईडी देखिएको छ ।
साम्पाङले धम्की दिने व्यक्तिविरुद्ध आजै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिने तयारी गरिरहेको जानकारी दिएका छन् । आफूले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यस्तो धम्की आएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा यो रास्वपाको समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की देको रैछ ! यही हो त रास्वपाको समर्थकको लाइन ? आजै cib मा उजुरी लगाउँदैछौँ ! हेरौँ cib ले काम गर्छ कि गर्दैन ! सरकारको एक पक्षिय दादागिरी रहे देश अराजकताले निल्नेछ !’
साम्पाङले सरकारलाई जनताको प्रश्नदेखि किन डराएको भन्दै संसद बैठक बोलाउन समेत माग गरेका छन् । अर्को पोस्टमा उनले प्रतिपक्षले उठाएका प्रश्नप्रति सरकार असहिष्णु भएको आरोप लगाउँदै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका छन् ।








