पूर्णबहादुर खड्काले बोलाए कांग्रेस जिल्ला सभापतिहरूको भेला

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् ।
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारी गरिरहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूलाई केन्द्रित गर्दै भेला आह्वान गरेका हुन् ।
खड्कानिकट स्रोतका अनुसार उक्त भेला १९ चैतमा आयोजना गर्ने तय भएको छ ।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएका छन् ।
धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुने उक्त बैठक दुई दिनसम्म चल्ने बताइएको छ ।
एक केन्द्रीय सदस्यका अनुसार बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई समेत सहभागी गराइनेछ ।
गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्दव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् ।
यसमध्ये थापा, यादव र बानियाँ भने प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए ।








