कांग्रेसमा समानुपातिक सांसदलाई ‘राइट टु रिकल’

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसदलाई ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार)को व्यवस्था पार्टी विधानमा समावेश गरेको जानकारी गराएको छ ।
शनिबार सानेपामा आयोजित संसदीय सचेतना कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले यस्तो प्रावधानबारे जानकारी गराएका हुन् ।
उनका अनुसार गत पुस मसान्तमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट परिमार्जन गरिएको विधानको दफा ४०मा समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ ।
शर्माले उक्त दफाअन्तर्गतका विभिन्न उपदफाहरूको व्याख्या गर्दै सांसदहरूको जवाफदेहिता र कार्यसम्पादन प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको बताए ।
उनले भने, ‘प्रचलित कानुनविपरीत काम गरेमा, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत गतिविधि गरेमा वा कार्यसम्पादन सन्तोषजनक नभएमा समानुपातिक सांसदलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्छ ।’
कांग्रेसका अनुसार उक्त व्यवस्था निर्वाचन आयोगबाट दर्ता र स्वीकृत भइसकेको छ । साथै सांसदहरूको सुझावसमेत समेटेर कार्यान्वयनका लागि निर्देशिका बनाउने तयारी भइरहेको जनाइएको छ ।
यसैक्रममा शनिबार कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।








