नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न प्राधिकरणलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद्का कारणले कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
आईतवार प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले आउँदो मनसुनमा विपद्को कारण कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्नेगरी पूर्वतयारी गर्न निर्देशन दिएका हुन् ।
उनले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अब उप्रान्त यस्तो हुन नदिइने बताए । ‘आज मैले प्राधिकरणसँग के प्रश्ताव राखेको छु भने डिजास्टरको लागि कम्तिमा पनि कलेजसम्म प्र्याक्किल एजुकेसन भइदियो भने राम्रो जनशक्ति आउनसक्छ । कल्पना गर्नुहोस् हामी प्राथमिक उपचार दिन सक्यो भने हामीले धेरै जनाको ज्यान बचाउन सक्छौँ । त्यसकारण यस्ता कुराहरु पाठ्यक्रममै राख्नुपर्छ । त्यहीअनुसार हामीले उहाँहरुलाई निर्देशन पनि दिएका छौँ’ उनले भने ।
उनले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रश्ताव पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको बताए ।
उनले नेपालमा भूकम्प, बाढीपहिरो लगायतका विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘हामीले विपद् व्यवस्थापनको सन्दर्भमा फिल्डमै काम गर्न थालेको दश वर्ष भइसक्यो । यो देशमा जुनसुकै डिजास्टर हुँदाखेरी, भूकम्प, बाढीपहिरोजन्य विपद् आउँदा हामी नपुगेको कुनैपनि ठाउँ छैन । विगतमा पनि जहाँ गाह्रो प¥यो हामी त्यहाँ पुगेका छौँ । अब चाहीँ त्यसको समाधान गर्ने हैसियत बनाएर आएको छु जस्तो लाग्छ । हामी विपद् जोखिम भएको देश पनि हो । भूकम्प, बाढीपहिरो जस्ता विपद्हरु भूगोलको हिसावले पनि हाम्रो देशमा धेरै आउने गरेको छ । तर विपद् प्रतिकार्य र व्यवस्थापनको लागि हामी तयारी जहिले पनि ढिला हुन्थ्यो’ उनले भने ।
उनले विपद् जोखिमयुक्त क्षेत्रमा विपद्का कारण कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्ने गरी प्रतिकार्यको तयारीमा जुट्न समेत निर्देशन दिएको बताए ।








